नेपालगन्जमा आयुर्वेद अस्पताल

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालमा पहिलोपटक निजी क्षेत्रबाट खुलेको सर्वाधिक ठूलो आयुर्वेद अस्पताल नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको उद्घाटन गरिएको छ । बिहीबार एक समारोहबीच नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व परराष्ट्र मन्त्री डा. रामशरण महतले अस्पतालको उद्घाटन गरेका छन् ।

नेपालगन्ज आदर्श नगर चौक नजिकै खुलेको १५ शैड्ढयाको आयुर्वेद जनरल अस्पताल नेपालगन्ज हेल्थ क्याम्पसले संचालन गरेको हो ।
बिहीबार भएको उद्घाटन समारोहमा प्रवक्ता एवम् पूर्व परराष्ट्र मन्त्री डा.महतसँगै नेपालगन्ज आयुर्वेद जनरल अस्पतालका अध्यक्ष एवम् संचालक मैकुलाल वाल्मिकी, अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रभाकर मिश्र, लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पतालका निर्देशक एवम् नेपाल आयुर्वेद परिषदका अध्यक्ष डा. सन्तोष कुमार ठाकुर, नेपालगन्ज मेडिकल कलेजका प्रमुख डा. सुरेश कनोडियालगायतको उपस्थिति रहेको थियो ।

डा. महतले नेपालगन्ज आयुर्वेद अस्पतालले स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण कार्यको सुरुआत गरेकोमा अस्पताल टिमलाई धन्यवाद दिँदै आयुर्वेद चिकित्सा पद्धतिलाई आमनागरिकसम्म पु¥याउन अस्पतालले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अहिले आयुर्वेदको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चा, यसको वैज्ञानिकता बारेमा बहस भइरहेको छ । यसलाई सबैले स्वीकार गरेका छन् । आयुर्वेद वैज्ञानिकतामा आधारित छ । प्राकृतिक पद्धतिमा आधारित छ । यसको कम भन्दा कम साइड इफेक्ट छ । प्राकृतिक स्तरबाटै औषधी निर्माण गरिएको छ । आयुर्वेद उपचार पद्धतिले बेजोड उपचार र रोगलाई रोक्ने सुनिश्चितता गर्छ भन्ने कुरा संसारले मानेको छ ।’ डा. महतले थपे, ‘नेपालमा आयुर्वेद उपचार पद्धति र अध्यापन बढ्दो क्रममा छ । सरकारले यसलाई प्राथमिकतामा राख्नु पर्छ । सेवा भावले नेपालगन्ज आयुर्वेद अस्पताल जस्तै देशभर सेवा पु¥याउन सक्यो भने सस्तो, छिटो, छरितो र कम नकारात्मक असर पर्ने पद्धति भएकोले नेपालको स्वास्थ्य क्षेत्रमा यसले ठूलो योगदान पु¥याउन सक्छ । आम मानिसको जनजीवनमा पनि ठूलो प्रभाव पार्छ ।’

अस्पतालको वातावरण आफूलाई प्रभावित गरेको डा. महतले बताए । उनले भने,‘ अस्पताल अत्यन्त सफा र शान्त वातावरणमा रहेछ । सफाइलाई महत्व दिइएको छ । यो निकै राम्रो कुरा हो । यही स्तरलाई निरन्तरता दिँदै संचालन भइरहेको अवस्थामा राम्रो सन्देश जान्छ । अस्पतालको उद्घाटन दिनमा सेवा लिनको लागि मानिसको भिड लागेको छ । यो नै आयुर्वेदप्रति जनताको विश्वास हो । यसलाई अस्पतालले कायम राख्दै काम गर्नु पर्छ ।’

‘स्वस्थ नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ सेवा भावले अस्पतालको सुरुआत गरिएको नेपालगन्ज आयुर्वेद जनरल अस्पतालका अध्यक्ष एवम् संचालक तथा संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले बताए । उनले भने, ‘आयुर्वेद नेपाल जस्तो देशका लागि निकै महत्वपूर्ण साबित बन्नेछ । नेपालमा अझै दुर्गम, ग्रामीण क्षेत्रहरु धेरै छन् । आर्थिक अवस्था कमजोर भएका मानिसहरुको संख्या धेरै छ । उनीहरुले सही रुपमा उपचार पाइरहेका छैनन् । हामी जडीबुटीमा सम्पन्न देश हौं । हाम्रो वरपर भएका जडीबुटीनै उपयोगी छन् । यही कुरा स्थापित गराउन हामीले आयुर्वेद अस्पताल र आयुर्वेद एचए स्तरको अध्यापन गराउने निर्णय गरेका हौं ।’

लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताल दाङ, बिजौरीका निर्देशक एवम् नेपाल आयुर्वेद परिषदका अध्यक्ष डा. सन्तोष ठाकुर, नेपालगन्ज मेडिकल कलेजका प्रमुख डा. सुरेश कनोडियालगायतले नेपालगन्ज आयुर्वेद जनरल अस्पतालले नेपालको आयुर्वेद क्षेत्रमा उच्च स्तरको सेवा दिँदै नागरिकमा आयुर्वेद प्रति सकारात्मक प्रभाव पार्न सफल हुने विश्वास व्यक्त गरे ।

नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रभाकर मिश्रले आगामी दिनमा थप सेवा र उच्च स्तरको आयुर्वेद चिकित्सा शिक्षालाई प्राथमिकता दिने बताए ।

उद्घाटनको दिनमा अस्पतालले निशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । जसमा २ सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएको अस्पतालले जनाएको छ । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले गौरव स्मृति प्रतिष्ठानसँगको सहकार्यमा निःशुल्क रुपमा आखाँ शिविरको पनि आयोजना गरेको थियो ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech