अदालतको आदेश लत्याउँदै निजी एवम् ऐलानी जग्गामा धावा !

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सार्वजनिक तथा निजी जमिन हड्पेको भन्दै नेपालगन्जका सुरेन्द्रकुमार श्रेष्ठ मिडियामा आएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नंम्बर २ स्थित होटल तथा क्यासिनो व्यवसायीले ऐलानी तथा  आफ्नो निजी जग्गा हड्पेको भन्दै सोमबार पत्रकार सम्मेलन गरेका छन् ।

नेपालगन्जस्थित सुर्खेत रोडमा रहेको “होटल डायमण्ड प्यालेस”प्रालि –तत्कालीन सिग्नेट इन कृष्णा होटलका संचालक सुरेन्द्र बहादुर सिंहले ऐेलानी तथा निजी जमिन हडपेर संरचना बनाएको र साँधमा रहेका व्यक्तिगत जमिन समेत हड्प्न खोजेको आरोप लगाउँदै श्रेष्ठ मिडियामा आएका हुन्  ।

साविक सिग्नेट ईन कृष्णा होटल रहेको उक्त जग्गालाई होटल तथा क्यासिनो संचालक सिंहले व्यवसायी दिपेन्द्र अग्रवालसँग केही समय अघि खरिद गरेका थिए । होटल संचालकले आफ्नो जमिन हडप्न खोजेपछि होटलका संधियार श्रेष्ठले “निषेधाज्ञा”माग गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दायर गरेका थिए । अदालतले विपक्षी सिंह विरुद्ध यही माघ २० गते अन्तरिम आदेश जारी गरीसकेको छ । तर होटल तथा क्यासिनो व्यवसायी सिंहले अदालतको अन्तरिम आदेशलाई अटेरी गर्दै सोही दिन आफ्नो पर्खाल लगायत भौतिक संरचनामाथि डोजर चलाएको पत्रकार सम्मेलन मार्फत् श्रेष्ठले आरोप लगाएका छन् ।

होटल तथा क्यासिनोका महेन्द्र चन्द र पुस्कर हमालले आफूमाथि डर, त्रास देखाइरहेको दुखेसो पोखे । यस विषयमा प्रतिक्रियामा लिन होटल तथा क्यासिनो संचालक सिंहलाई फोन गर्दा यो समाचार तयार पार्दा सम्म सम्पर्क हुन सकेन । सिंहले होटल र क्यासिनोका“गुन्डा”प्रयोग गरेर जबरजस्ती डोजर चलाउँदा करिब १७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको श्रेष्ठले बताए । श्रेष्ठले २०५९ सालमा १७१ नम्बर कित्ता रहेको २ कठ्ठा साढे १४ धुर जमिन किनेर २९६४ सालमा घर निर्माण गरेका थिए ।

‘मैले त्यति बेला नगरपालिकाबाट नक्सा पास गरेर घर बनाएको थिएँ, म विगत ४/५ वर्षदेखि श्रीमतीको उपचारका लागि काठमाडौँतिर व्यस्त भएको मौका छोपेर नयाँ नापी गराएर मेरो जग्गा हडप्न खोजेको नियत देखिन्छ,’ श्रेष्ठले भने । साबिकका जग्गाधनी अग्रवालले १४ कठ्ठा जमिनमा सरकारी, सार्वजनिक र व्यक्तिगत जमिन हडपेर अहिले १८ कठ्ठा पुर्‍याएको श्रेष्ठले आरोप लगाएका छन् । उक्त होटलले अर्का स्थानीय योगेन्द्र स्वाँरको करिब ८ धुर र कालिमाई मन्दिरको करिब ४ कठ्ठा जमिन हड्पेको र आफ्नो पनि करिब ५ धुर जमिन अहिले हडप्ने प्रयास गरिरहेको श्रेष्ठले सुनाए।

अदालतको अन्तरिम आदेश विरुद्ध होटल सञ्चालकले आफ्नो संरचनामा जबरजस्ती डोजर चलाएपछि अदालतमा पुनः अवहेलना मुद्दामा दायर गरिएको श्रेष्ठले बताए। ‘मलाई अहिले पनि उनीहरु डर, धम्की दिइरहेका छन्, मेरो ज्यान जोखिममा छ,’ उनले भने ‘ज्यान सुरक्षा गरी पाउँ भनेर मैले माघ १९ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिइसकेको छु।’ सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा आँखा लगाउनेमाथि छानबिन गरिदिन उनले सम्बद्ध निकायसँग आग्रह गरेका छन्। आफूसँग सबै प्रमाणहरू रहेको श्रेष्ठको दाबी छ।

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech