आफ्नै पालिका आउन भारतीय बाटो प्रयोग !

असल शासन प्रतिनिधि

नरैनापुर/ बाँकेको नरैनापुर गाउँपालिका आउनका लागि नरैनापुर २ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको बताएका छन् । नरैनापुर गाउँपालिकाले ३ करोड लागतका रोसनपूर्वाको रोड निमार्ण सुरुपछि स्थानीयहरु हर्षित भएका छन् ।
गाउँपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपुर्वा गाउँका बासिन्दा राज्यकोे उदासीनताका कारण आफ्नै पालिका आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताए ।

रोसनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाउँपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँले भनाइ थियो ।

वर्षौपछि गाउँपालिकाले बाटोको निमार्ण सुरु गरेपछि स्थानीयहरु उत्साहित भएका छन् । स्थानीय नजिर खाँले भने,‘हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएन्न, नियमित रुपमा लगाइने खोपसहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट वञ्चित थियो । तर अब रोड बनेपछि सहजता आउने छ ।’

६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले बताए । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर गाउँपालिकासँग रोसनपूर्वालाई जोड्ने नेपाली सडक वर्षौपछि ३ करोड लागतमा निमार्ण सुरु गरिएको बताउँदै अब रोसनपुर्वाका नागरिकहरुलाई भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यताको अन्त्य हुने दाबी गरे ।

योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निमार्ण सुरु भएको बताउँदै ५ महिनाभित्रै सडकको निर्माणको काम सम्पन्न गरिने जानकारी दिएका छन् । रोसनपुर्वा गाउँमा ६ सय घरधुरी संख्या रहेको छ ।

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech