रुक्मिणी स्मृती अक्षय कोषबाट बालवालिकालाई सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासकी पूर्ब केन्द्रीय सदस्य स्व. रुक्मिणी शाहको जन्मदिनमा बाल आश्रममा रहेका १० जना बालवालिकालाई सहयोग हस्तान्तरण गरिएकोछ ।
बासले स्थापना गरेको रुक्मिणी स्मृती अक्षय कोषबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको जनजाति कल्याण आश्रम नेपालमा रहेका बालवालिकालाई कपडा खरिदकालागि १० हजार एक सय एघार रुपैयाको चेक हस्तान्तरण गरिएको हो । बासका केन्द्रीय कार्यवाहक अध्यक्ष शिब कुमार बर्मा, निवर्तमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले संयुक्त रुपमा आश्रमका अध्यक्ष कृष्णा पाण्डेलाई सहयोग हस्तान्तरण गरेका हुन् ।


सहयोग प्राप्त गरेपछि बोल्दै जनजाति कल्याण आश्रम नेपालकी अध्यक्ष कृष्णा पाण्डेले अक्षय कोषबाट भएको सहयोगले समाजमा राम्रो काम गर्नुपर्छ भन्ने सन्देस प्रवाह गरेको बताईन् । उनले अक्षयकोष बाट बिपन्न र गरिब बालवालिका र हिंसा प्रभावित महिलाहरुलाई ठुलो सहयोग पुग्ने बताईन् । बासले गरेको पुण्यको कामसमाजका लागि अनुसरणीय रहेको र योगदानको कदर गर्ने संस्कारको विकास भएको उनको भनाई थियो ।
कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको बारेमा बोल्दै उनको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताएका थिए । बासका कार्यक्रम ब्यवस्थापक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागिता थियो । बासका केन्द्रीय कार्यवाहक अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्व.शाहको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने शाहको तस्विरमा अविर अर्पण गरिएको थियो ।
शाहको सम्झनामा स्थापित अक्षयकोषबाट अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ । स्व. शाहको २०६५ बैशाख २७ गते खासकाँरकाँदौमा शाहका पति लगायतले दिउसै हत्या गरेका थिए । पूनरावेदन अदालतले अभियुक्तलाई सर्वश्व सहित जेल सजायको फैसला गरिसकेको छ ।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech