तेस्रो नेपालगञ्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान

चुङ्वा शेर्पा सदभावना दुत

असल शासन प्रतिनिधि

नेपालगञ्ज/तेस्रो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति आगामी फागुन १५ गते सम्म रहेको छ ।

अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवल लकडाउन पछि तेस्रो संस्करण गर्न लागिएको हो ।
९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वाेत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ ।

विगत वर्षहरुमा वर्ष फोटोले २५ हजार नगद सहित प्रमाणपत्र र विद्यागत रुपमा पुरस्कृत फोटोहरुले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकोमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिने आयोजक अन्तरालले जनाएको छ ।

वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लवका पूर्व अध्यक्ष विकास कार्की नेतृत्वको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछन् ।
फोटो प्रतिष्पर्धामा रहेका विधाहरु समाचार (News), दैनिक जीवन (Daily Life), पर्यटन, (Tourism), वन्यजन्तु (Wild life), खेलकुद (Sports), संस्कृति (Culture), प्रकृति र संरक्षण (Nature & Conservation) खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माईल (Nepal Smile) रहेका छन् ।

यस वर्ष देखि कृषी (Agriculture) बिधा थप गरिएको छ । हरेक बिधामा १ जना ब्यक्तिले २ वटा सम्म फोटो पठाउन सक्नेछन् । [email protected] मा फोटो पठाउन सकिने छ ।

विगतमा लुम्विनी, कर्णाली र सुदुरपश्चिममा खिचिएका फोटोहरु मात्र प्रतिष्पर्धामा सामेल गरिएकोमा यस वर्ष देखि देशव्यापी रुपमा फोटो आह्वान गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

‘सिङ्गो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगञ्ज फोटो फेस्टिवललाई अगाडी बढाउन थालेका हौं’ — अन्तरालका प्रमुख कार्यकारी शाहले भने – ‘यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।’

फेस्टिवल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ ।
यस अवसरमा २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाण्डौंवाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहनेछ ।

यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिवलले अघिल्लो पुस्ता र नयाँ पुस्ता वीच सेतुको काम पनि गर्नेछ ।

यसैगरी प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको वढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिवल पछि फोटोहरु मुलुकका बिभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।

चुङ्वा शेर्पा सद्भावना दुत

चर्चित वाईल्डलाईफ फोटोग्राफर चुङ्वा शेर्पालाई नेपालगञ्ज फोटो फेस्टिवलको गुडविल एम्वासडर (सद्भावना दूत) घोषित गरिएको छ ।
केही समय अघि फोटोग्राफर शेर्पा र फेस्विटलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहवीच राजधानी काठमाण्डौंमा सो सहमति भएको हो ।

शेर्पाले केही महिना अघि हुम्लाको लिमी भ्यालीमा खिचेको ‘वाईल्ड याक’ (जंगली याक) को फोटो निकै चर्चित बन्यो । यो फोटो खिच्ने क्रममा याकको आक्रमणबाट मुस्किलले जोगिएको शेर्पा बताउँछन् ।

वाईल्ड याक बिश्वकै दुर्लभ वन्यजन्तु हो । जुन नेपालको हुम्ला क्षेत्र र तिव्वती पठारहरुमा भेटिएको छ । जंगली याकलाई कर्णाली प्रदेशको खुर्खेतमा हुने राष्ट्रिय खेलकुदको ‘मस्कट’ घोषणा गरिएको छ ।

एअरलाईन्स र होटेल व्यवसायमा लामो समय काम गरेका चुङ्वा शेर्पा शोलुखुम्वुको लुक्ला निवासी हुन् । ५८ बर्षको उमेर पछि क्यामेरा लिएर आफ्नो शौख पुरा गर्न निस्केका शेर्पाले हिमचितुवा, रेडपाण्डा, बाघ, विभिन्न चराहरुको दुर्लभ फोटो खिचेका छन् । नेपालमा मात्र होईन तान्जानियको राष्ट्रिय निकुञ्जमा समेत करिव १ महिना वसेर फोटो खिचेको अनुभव उनीसँग छ । हाल शेर्पा काठमाण्डौमा बसोबास गर्छन् ।

वाईल्डलाईफ फोटोग्राफी गर्न व्यत्तिगत तवरमा धेरै खर्च गरेका चुङ्वा याकको फोटो खिच्न हेलिकोप्टरनै चाटर्ड गरेर लिमी भ्याली पुगेका थिए । प्रविधीमा निकै रुची राख्ने शेर्पाले विश्वकै सबैभन्दा नयाँ प्रविधीका क्यामेरा र लेन्स लगायत उपकरण चलाईरहेका छन् ।

महिनौं सम्म अनकण्टार हिमाली पठार र राष्ट्रिय निकुञ्जमा टेण्ट खडा गरेर बस्ने चुङ्वा अहिले १ महिनाको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र टेन्ट खडा गरेर बाघको फोटोग्राफीका लागि बसेका छन् ।

शेर्पाको यो जाँगर र सक्रियताको सम्मानमा उनको सवारी साधनलाई नेपालको सबै राष्ट्रिय निकुञ्ज प्रवेशको अनुमति दिईएको छ ।
हरेक फोटोसँगै भिडियो पनि खिच्ने शेर्पा सामाजीक सञ्जाल फेसबुकमा सक्रिय छन् भने टिकटकमा उनले खिचेको फोटो र भिडियो ‘भाइरल’ छन् ।

‘यो उमेरमा पनि चुङ्वा शेर्पाको उत्साह, हिम्मत र सक्रियता र योगदानलाई सम्मान गर्न हामीले सद्भावना दुत घोषणा गरेका हौं’ अन्तरालका प्रमुख कार्यकरी जयनारायण शाहले भने ‘उहाँको सहभागिताले नेपालगञ्ज फोटो फेस्टिवलले पनि एउटा उचाई लिनेछ ।’

 

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech