स्वच्छ र सुन्दर सहर बनाउन हातेमालो आवश्यकः प्रजिअ आचार्य

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी प्रमुख रमेश शाही, सरसफाई अभियन्ता डा. विनोद कर्ण, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, सरसफाईकर्मी लगायत उपस्थित थिए ।

त्यसक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सफा, स्वच्छ र सुन्दर सहर बनाउन सबैको हातेमालो जरुरी रहेको बताए । उनले सरसफाई अभियानलाई निरन्तर रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । नगर प्रमुख विष्टले प्रजातन्त्र दिवसको अवसर पारेर सांकेतिकरुपमा सरसफाई अभियान थालिएको बताए । नगरलाई सफा र स्वच्छ राख्न सरसफाई कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने विष्टको भनाइ छ । उनले विदेशी पर्यटकहरु भित्रिने नाका भएका कारण जमुनाहा क्षेत्रबाट सरसफाई अभियानको सुरुवात गरिएको बताए । ‘उपमहानगरपालिकाको एक्लो प्रयासले मात्र सरसफाई सम्भव हुँदैन, सबै सरोकारवाला र नागरिकको हातेमालो र सहभागिताले मात्र सहरलाई सुन्दर राख्न सकिन्छ’, नगर प्रमुख विष्टले भने,‘क्लिन नेपाल–ग्रिन नेपालगन्ज लगायत विभिन्न संघसंस्था र निकायको सहयोगमा हामी सरसफाई अभियानलाई निरन्तरता दिन्छौं ।’

नगर उपप्रमुख राईले नेपालगञ्जलाई सफा र स्वच्छ राख्ने दायित्व सबैको भएको भन्दै नागरिकहरुमा व्यवहार परिवर्तन पनि आवश्यक रहेको बताए । क्लिन नेपालगञ्ज–ग्रिन नेपालगञ्जका अभियन्ता डा.कर्णले आफूहरुले साप्ताहिकरुपमा अघि बढाएको सरसफाई अभियानले नागरिकमा सचेतना र जागरण ल्याएको स्मरण गराउँदै उक्त अभियानलाई प्र्रतिकूल अवस्थाका कारण निरन्तरता दिन नसके पनि अब नेपालगन्ज उपमहानगरपालिकासँग सधैं हातेमालो र सहकार्य गर्न तत्पर रहने बताए । कार्यक्रमको संचालन स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए ।

 

  • ७ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech