माफियाको चंगुलमा फसे करन

तेज बोहरा

धनगढी/उमेरले ४० कट्नै लागेका करन चहडा । एक महिनादेखी न्याय माग्न भौतारीरहेका छन् । करन दिनहुँ जसो कहिले प्रहरी, कहिले वकिल त कहिले पत्रकारहरुलाई भेट्छन् । खुशी हराएको अनुहार र हातमा केही फोटोकपि पेपरहरु बोकेर न्यायकै लागि भौतारीरहेका हुन्छन् उनी ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ बसन्त टोलका करन झण्डै १२ बर्षअघि भारतबाट नेपाल फर्किए । लामो समय भारतमा दु:ख गरेर नेपाल फर्किएका करन नेपाल फर्किने र घरपरिवारसंगै सुख दु:ख गरेर यतै बस्ने योजनामा थिए ।

नेपाल आएपछि नेपालमै केही व्यवसाय गर्ने योजना बनाएका करनले होटल सञ्चालनको तयारी थाले । भारत विभिन्न होटलमा काम गरेर अनुभव बटुलेका करनलाई नेपालमा होटल व्यवसाय गरेर सजिलै आम्दानि गर्छु भन्ने आट थियो । भारतमा मजदुरी गरेर कमाएको पैसाले ५ धुर जमिन र घर जोडेका करनले होटल सञ्चालनको लागि ऋण लिनुपर्ने अवस्था आयो ।

ऋण खोज्दै जादाँ धनगढी उपमहानगरपालिका–५ जाईका हेमराज जोशीसंग करनको भेट भयो । भरखर विदेशबाट फर्किएका हेमराज करनलाई ऋण दिन तयार भए । २०७२ साल बैशाखमा करनले हेमराजबाट झण्डै ४ लाख रुपयाँ ऋण लिए । बार्षिक २० प्रतिशत ब्याजमा ऋण लिएका करनलाई धरौटीमा आफ्नो नाममा भएको घर जग्गा आफ्नो हेमराजको नाममा गर्ने सर्त थियो । करन सोही सर्तमा मन्जुर भए र आफ्नो नामको घर जग्गा हेमराजको नाममा गरेर झण्डै ४ लाख रुपयाँ ऋण लिए ।

उक्त रकमबाट धनगढीकै क्याम्पस रोडमा व्यवसाय होटल सञ्चालन गरेका करनले झण्डै तीन बर्ष होटल चलाए । होटल नचल्ने र व्यवसाय अगाडी बढाउनै हम्मेहम्मे भएपछि करन झन बढी ऋणमा डुबे । व्यापार नचल्ने भएपछि करनले होटलनै बन्द गर्नु पर्यो । त्यसपछि उनि धनगढीकै विभिन्न होटलहरुमा काम खोज्न तर्फ लागे । त्यतिबेलासम्म परिवारमा कुनै समस्या थिएन् । सामान्य तरिकाले घरव्यवहार चलिरहेको थियो । होटल सञ्चालनका लागि ऋण पनि मजदुरी गरेर तिर्छु भन्ने आँट थियो ।

हेमराजसंग लिएको ऋण र दुईतीन बर्षदेखीको ब्याजले थिचेका करन कामको खोजीमा भौतारीरहेका थिए । काम खोग्दै जादाँ करनले धनगढीको हसनपुरमा रहेको विकास होटलका सञ्चालक यज्ञप्रसाद तिवारीलाई भेटे । तीवारीले आफ्नै होटलमा करनलाई म्यानेजरको काम समेत दिलाए ।

धनगढीमा राम्रै चलेको होटलमा म्यानेजरको काम पाएर खुशी भएका करनले सायद कल्पना समेत गरेका थिएनन् होला यसरी घरबार बिहिन हुन्छु भनेर । आफ्नो मालिक यज्ञप्रसाद तिवारीलाई औधि विश्वास गरेका करनले आफ्नो ऋणमा डुबेको पीडा सुनाए ।
ऋणमा डुबेको र जग्गा साहुँको नाममा रहेको पिडा सुनाएपछि यज्ञप्रसादले करनलाई ऋण मुक्त गराईदिने र घर जग्गा फिर्ता गर्ने आश्वासन दिलाए । रिण लिदाँ घर जग्गानै साहुको नाममा गर्दिएको कमजोरी थाहा पाएका यज्ञप्रसादले उक्त जमिन आफ्नो बनाउने नयाँ षड्यन्त्र रच्न थाले ।

लगत्तै यज्ञप्रसादले हेमराजको सावाँ र ब्याज सहित साँढे पाँच लाख चुक्ता गर्दिए र उनको नाममा रहेको जमिन ऋण नतिरुन्जेलसम्म आफ्नो नाममा नामसारी गर्नुपर्ने सर्त राखे । करन यज्ञप्रसादको उक्त सर्तमा समेत मन्जुर भए र हेमराजको नाममा रहेको जमिन धरौटी स्वरुप यज्ञप्रसादको नाममा गर्दिए । हेमराजको ऋण चुक्ता र उनको नाममा रहेको जमिन आफ्नै मालिकको नाममा आएपछि एउटा तनाबबाट मुक्त भएका करन होटलबाट कमाएको ज्याला समेत नबुझेर
ऋण घटाउन भन्थे ।

झण्डै एक बर्ष यज्ञप्रसादको विकास होटलमा काम गरेका करनलाई विस्तारै यातना दिन सुरु गरे भने करनको घरमा आएर श्रीमती र छोरीहरुलाई दुर्ब्यवहार गर्न थाले । यज्ञप्रसादले ऋणबाट उकासेको र श्रीमानलाई जागिर दिएको गुन सम्झेर करनकी श्रीमती लालि देवी चहडाले याताना र दुर्ववहार सहन बाध्य भईन् । यज्ञप्रसाद कहिलेकाही त घरमै आएर दुव्र्यवहार गर्थे भने कहिले विभिन्न बाहाना बनाएर होटलमा बोलाएर दुव्र्यवहार गर्थे । यज्ञप्रसाद घरमा आएर छोरीहरुलाई समेत हातपात गर्न भ्याउथे ।

आँखाभरी आशु खसाल्दै लालिदेवीले सुनाईन्–‘आफ्नो रगत पसिना बगाएर बनाएको घर र श्रीमानले भारतमा भाडा माझेर किनेको जमिन जोगाउने आशमा यो पिडा कसैलाई सुनाउन सकेन्, उता श्रीमानलाई होटलमा बन्धक जस्तै बनाएको थियो, यता रातिराति घरमा आर दुर्ब्यबहार गर्थ्यो ।’

यस्तै यातना र परिवार माथि गरेको दुव्र्यवहार सहन नसकेर करनले ऋण चुक्ता गर्ने र काम छोड्ने निधो गरे । यज्ञप्रसादले हेमराजलाई दिएको झण्डै ७ लाख रुपयाँ रिण चुक्ता गर्न करनलाई एउटै मात्र विकल्प थियो आफ्नो भाईको नाममा रहेको जमिन बिक्रि गर्ने । एक बर्ष अगाडी धनगढी उपमहानगरपालिका १२ जुगेडामा भाईको नाममा रहेको जमिन बिक्रि गरेर यज्ञप्रसादको ब्याज सहित रिण फिर्ता गरेका करनले आफ्नो घर जग्गा फिर्ता आउने आशमा थिए । ऋण चुक्ता गरेपछि जग्गाको लालपुर्जा फिर्ता गर्न आग्रह गरेका करनलाई यज्ञप्रसादले बिभिन्न बाहाना बनाए टार्थे भने जग्गा फिर्ता गर्न आनाकाना गरिरहेका थिए ।

यहि बिचमा यज्ञप्रसादले करनको घर जग्गा गत फागुन २३ गते धनगढी उपमहानगरपालिका ४ का ममता प्रसाद सौजुलाई बिक्रि गर्दिए । उक्त घर जग्गा यज्ञप्रसादले झण्डै ८० लाखमा अर्कैलाई बिक्रि गरेपछि अहिले करनको परिवार बिचल्लीमा परेको छ । ममता प्रसादले घर छोड्न ताकेता गरिरहेका छन् भने करनको परिवार न्यायको लागि भौतारी रहेका छन् ।

आईतबार मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीमा यज्ञप्रसादको नाममा ठगी मुद्धा दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले जाहेरी आएको पक्रिया अगाडी बढाईएको जनाएको छ ।

  • ८ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech