चुङ्वा शेर्पा नेपालगञ्ज फोटो फेस्टिवलको सद्भावना दूत

असल शासन प्रतिनिधि

नेपालगन्ज/चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्वा शेर्पालाई नेपालगञ्ज फोटो फेस्टिवलको गुडविल एम्वासडर (सद्भावना दूत) घोषित गरिएको छ ।

केही समयअघि फोटोग्राफर शेर्पा र फेस्विटलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहबीच राजधानी काठमाडौंमा योे सहमति भएको हो ।

शेर्पाले केही महिना अघि हुम्लाको लिमी भ्यालीमा खिचेको जंगली याकको फोटो निकै चर्चित बन्यो । सो फोटो खिच्ने क्रममा याकको आक्रमणबाट मुस्किलले जोगिएको शेर्पा बताउँछन् ।

एअरलाइन्स र होटेल व्यवसायमा लामो समय काम गरेका चुङ्वा शेर्पा शोलुखुम्वुको लुक्ला निवासी हुन् । ५८ वर्षको उमेर पछि क्यामेरा लिएर आफ्नो शौख पूरा गर्न निस्केका शेर्पाले हिमचितुवा, रेडपाण्डा, बाघ, विभिन्न चराहरुको दुर्लभ फोटो खिचेका छन् । नेपालमा मात्र होईन तान्जानियाको राष्ट्रिय निकुञ्जमा समेत करिव १ महिना बसेर फोटो खिचेको अनुभव उनीसँग छ।

सोसल मिडियामा निकै सक्रिय चुङ्वा युवा पुस्तासँग फोटोग्राफीका अनुभवहरु सेयर गरि अन्तर्क्रिया गरिरहेका हुन्छन् । शेर्पा केही दिन अघि देखि बाघको विशेष फोटोग्राफीकालागि सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा टेन्ट खडा गरेर वसेका छन् ।

चुङ्वा शेर्पाको यो लगाव, मेहनत, यो उमेरमा सक्रियताले सवैलाई प्रेरणा दिने भएकोले उहाँको सम्मानमा नेपालगन्ज फोटो फेस्टिवलको सद्भावना दूत घोषित गरिएको हो ।

उहाँसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशी लागेको प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

  • ९ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech