भेरी अस्पताल घुस प्रकरणः दिने र खाने सबैलाई सजाय

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भेरी अस्पतालका लागि आवश्यक विभिन्न सामान तथा औषधी खरिद बिक्रीमा कमिशन बापतको घुस खाने ४ जना कर्मचारी र घुस दिने ११ जना व्यापारीलाई विशेष अदालतले कैद र बिगो जरिवानाको फैसला सुनाएको छ ।

भेरी अस्पताल नेपालगन्जमा कार्यरत घुस खाने ४ जना कर्मचारी सहित घुस खुवाउने निजी फर्महरुका ११ जना व्यापारी गरी १५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ साल असोज २२ गते बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले भेरी अस्पताल, नेपालगन्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सह–लेखापाल प्रेम बहादुर खत्रीलाई बिगो माग दाबी रकम ४ भाग लगाई ७÷७ महिना कैद सजायको फैसला सुनाएको छ ।
विशेष अदालतले अस्पतालमा भएको भ्रष्टाचार काण्डमा करिब २ वर्षपछि गरेको फैसलामा अख्तियारको माग दाबी रहेको कुल १७ लाख ८० हजार ४ सय ७५ रुपैयाँलाई बिगो मानी ४ जना कर्मचारीबाट दामासायीले असुल गर्ने फैसला गरेको छ । फैसला अनुसार अस्पतालका ४ जना कर्मचारीलाई जनही ४ लाख ४५ हजार १ सय १८ रुपैयाँ बिगो र ७÷७ महिना कैद हुने फैसला गरेको छ ।

विशेष अदालतले बरामदी मुचुल्का, अनुसन्धानका क्रममा भएको साबिती बयान, अरुण खनालले गुगल ड्राइभमा सुरक्षित राखेको कमिसनको विवरण, अदालतलमा गरेको बकपत्र लगायतलाई प्रमाण मान्दै यस्तो फैसला गरेको जनाएको छ ।

भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेक समेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जको टोलीले अस्पतालमा गत २०७७ साउन ८ गते अस्पतालको स्टोर शाखामा छापा मारेको थियो ।

विशेष अदालतको फैसला अनुसार कर्मचारीलाई घुस दिने नेपालगन्जका कमला इन्टरनेशनल तथा कृष्णा इन्टरनेशनलका संचालक दिपेन्द्र अग्रवाललाई ३६ हजार रुपैयाँ जरिवाना र ३ महिना कैद, रुबि इलेक्ट्रोनिक्स सप्लायर्सका अब्दुल अली अन्सारीलाई ५६ हजार बिगो र ४ महिना कैद, फर्निचरका पजक कुमार लाई ६१ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद, बागेश्वरी बिज्ञापन सेवाका ज्ञान बहादु वलीलाई ९६ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद सुनाएको छ ।

त्यसैगरी नेपाल स्टोरका साहित हुसेन हलुवाइलाई २० हजार रुपैयाँ जरिवाना र १ महिना कैद, लुम्बिनी स्टेशनरीका पूर्णिमा भण्डारीलाई ४५ हजार रुपैयाँ जरिवाना र ३ महिना कैद, न्यू निजम स्टोरमा कमालुद्दिन मुकेरीलाई १ लाख ६१ हजार रुपैयाँ जरिवाना र ६ महिना कैद, ओसियन इन्टरनेशनल तथा पश्चिमाञ्चल डिस्ट्रीब्यूटरका अवनिशकुमार अग्रवाललाई एक लाख १८ हजार ६ सय रुपैयाँ जरिवाना ६ महिना कैद, इन्फोसी बाँकेका सुदीप रिजाल ६० हजार जरिवाना र ४ महिना कैद रोशनी स्टिल फर्निचरका इजामुद्दिन खाँलाई ६० हजार जरिवाना र ४ महिना कैद तथा हनुमन्त स्टेशनरी एण्ड सप्लार्यसका राजेन्द्र कुमार सोनीलाई ९९ हजार ६ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सुनाइएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालका लेखा अधिकृत सहित ४ जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको २ वर्ष पछि फैसला भएको हो ।

  • ११ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech