सरसफाई क्षेत्रमा काम गर्ने संस्था बिचमा परिचय

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भित्र सरसफाई क्षेत्रमा कार्यरत संघसंस्थाहरुको परिचयात्मक बैठक भएको छ ।
नेपालगन्ज उमपहानगरपालिका वातावरण तथा विपत ब्यवस्थापन शाखाको आयोजनामा भएको परिचयात्मक बैठकमा उपमहानगरपालिका भित्र सरसफाईको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले गरिरहेका कामहरु, समस्या, चुनौती र आगामी योजनाका बारेमा अनुभव आदान प्रदान गरिएको थियो ।
परिचयात्मक बैठकमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वास कार्यदल समिति संयोजक तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष समिर प्रताप सिंहले नेपालगन्ज उपमहानगरलाई स्वच्छ, सफा र हराभरा बनाउन सबैको सहकार्य महत्वपूर्ण हुने बताए । उनले नगरलाई सरसफाईयुक्त बनाउन साझाँ कार्यक्रम लिएर अगाडी बढ्नुपर्नेमा जोड दिए । बैठकमा बोल्दै बातावरण तथा विपत ब्यवस्थापन शाखा प्रमुख प्रकाश डिसीले सरसफाई मानिसको ब्यवहार परिवर्तनसँग सम्बन्धीत रहेकाले सफलता हासिल हुन समय लाग्ने बताए । उनले पहिलेको तुलनामा उपमहानगरपालिका भित्रको सरसफाई अब्बल बन्दै गएको जनाए ।


यसैगरी बैठकमा बोल्दै नेपाल रेडक्रस सोसायटिका बरिष्ठ प्रशासन अधिकृत निरन्जना मल्लले सरसफाई अभियानलाई निरन्तर रुपमा अगाडी बढाउन जरुरी रहेको बताईन् । यसैगरी नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले नगरको शौदर्यकरण र सरसफाईका लागि उपमहानगर, वडा कार्यालय र साझेदार संस्थाहरुले संयुक्त रुपमा योजना अनुसार थप सक्रियता पूर्वक काम गर्नुपर्नेमा जोड दिए । पहिलेको तुलनामा नगरबासिहरुमा स्वचेतनाको विकास भएको उनको भनाई थियो । बैठकमा एसडिएफका परियोजना संयोजक राम श्रेष्ठ, केश बाँकेका बालिका देबि रावत, समपर्ण नेपालका मोहनलाल सोनखर, बिग्रुपका इन्द्रजित सुनार, स्वच्छ नेपाल हाम्रो अभियानका भानु भट्ट लगायतले बोलेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत गोरख बहादुर थापाको अध्यक्षतामा भएको बैठकमा वास कार्यदल समिति संयोजक तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष समिर प्रताप सिंह, कार्यपालिका सदस्य विना थापा, नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नविन गिरी लगायतको उपस्थिती रहेको थियो । बैठकको ब्यवस्थापन गेरुवा ग्रामिण संघ बर्दियाले गरेको थियो ।

  • १९ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech