सूचना उपलब्ध नगराउने प्रमुख प्रशासकिय अधिकृतलाई जरिवाना

असल शासन प्रतिनिधि

काठमाण्डौं ।
सूचना उपलब्ध नगराएको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको छ ।
प्राप्त जानकारी अनुसार कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गरेको आयोगले जनाएको छ ।
पटक–पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध गराउने प्रयास नभएको भन्दै आयोगले जरिवाना गरेको जनाएको छ । आयोगले सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६ (७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) बमोजिम गरेको जरिवाना असुलउपर गरी आयोगलाई जानकारी दिनु भन्दै सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आदेश गरेको छ ।
आयोगले शाहलाई विभागीय कारबाही गरी, पुनरावेदकलाई सूचना उपलब्ध गराई दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखेर पठाउन समेत आदेस गरेकोछ। आयोगको निर्णय चित्त नबुझेमा शाहले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न पाउने भनी उक्त आदेशमा उल्लेख गरिएको छ ।
सप्तकोशी नगरपालिका वडा नम्बर ११ का कैलाश माझीले कञ्चनरुप नगरपालिकाको कार्यालयसँग विभिन्न बिषयमा सूचना माग गरेका थिए । माग गरेको सुचना पटक पटक उपलब्ध गराउन अनुरोध गर्दा समेत पालिकाले सूचना उपलब्ध गराएको थिएन् ।

  • २५ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech