भ्रष्टाचार बिरुद्ध १३ जिल्लाका प्रजिअलाई एकै पटक ज्ञापन पत्र

बाँकेमा ज्ञापन पत्र बुझाउन असहज

समाचार डेस्क

समाचार डेस्क / बास नेपालले १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भ्रष्टाचार बिरुद्ध ज्ञापन पत्र बुझाएको छ ।
भ्रष्ट्राचार बिरुद्धका शुद्धिकरण (सत्याग्रह) कार्यक्रमको आयोजना गरि चैत्र १४ गते बास नेपालले ११ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
बास नेपालले बाँके, कैलाली, कन्चनपुर, डोटी, डढेल्धुरा, बझाङ, सुर्खेत, जुम्ला, हुम्ला, जाजरकोट, मुगु, बाजुरा, प्युठान जिल्लामा एकै पटक भ्रष्टाचार बिरुद्ध ज्ञापन पत्र बुझाईएको हो ।


सरकारी निकायमा हुने भ्रष्टाचारका बिरुद्धमा रखवारी गर्ने, असल कार्यको प्रोत्साहन र खराब कार्यका बिरुद्ध जनमत सृजना गर्ने, समस्या समाधानका लागि सम्बद्ध निकाएको ध्यानआकृष्ठ गर्ने उद्धेश्यले भ्रष्टाचार बिरुद्ध शुद्धिकरण कार्यक्रम गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ज्ञापन पत्रमा जिल्लामा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गर्न, सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाउन, नियमित रुपमा सार्बजनिक सुनुवाई गर्ने व्यवस्था मिलाउन, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गर्ने व्यवस्था मिलाउन, हरेक सरकारी कार्यालयमा सुचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने व्यवस्था मिलाउन, बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई उपलब्ध गराउनुका साथै र असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गर्न माग गरिएको छ ।


यसैगरी सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गर्न, हरेक कार्यालयमा नागरिक बडापत्र र गुनासो पेटिकाको व्यवस्था गर्न, जिल्ला स्तरमा गठित भ्रष्टाचार बिरुद्धको समितिलाई सक्रिय पार्न, जिल्लामा हुने भ्रष्टाचार नियन्त्रणका लागि अनुगमन तत्काल थाल्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउनु पूर्ब भ्रष्टाचार बिरुद्धका अभियन्ताहरुले हरेक जिल्ला प्रशासन कार्यालय अगाडी आधा घण्टा साँकेतिक धर्ना दिएका थिए । ब्यानर सहित अभियन्ताहरुले भ्रष्टाचार बिरुद्धका नारा अंकित प्लेकार्ड प्रर्दशन गरेका थिए ।
भ्रष्ट कर्मचारीहरुलाई कार्बाही गरौं, हामी भ्रष्टाचार बिरोधी हौं, कार्यालय समयको पालना गरौं, भ्रष्टारीहरुलाई सामाजिक बहिस्कार गरौं, कार्यलयमा काम लिन आएका सेवाग्राहीलाई सम्मानजनक ब्यबहार गरौं, घुष लिन र दिन बन्द गरौं, भ्रष्टाचार गर्नु भएकोछ भने यहाँलाई प्रबेश निषेध, सेवाग्राहीलाई बिभिन्न बहानामा नझुलाऔं, भ्रष्टाचार बिरुद्ध आजै देखि शुरु गरौं, भ्रष्ट कर्मचारीलाई कार्बाही गरौं नारा अंकित प्ले कार्ड प्रर्दशन गरिएको थियो ।


बास नेपालले बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यलाई बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष शिव कुमार बर्मा, निर्देशक हेमराज भट्टले ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई सुदुरपश्चिम प्रदेश संयोजक पाण्डव पुजारा, शाखा अध्यक्ष चिरिञ्जिवी छेडाल, कन्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, कार्यक्रम अधिकृत शुद्ध प्रसाद चौधरी, कन्चनपुर शाखा अध्यक्ष पुष्कर पन्त, डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई डोटी शाखा अध्यक्ष सरिता कठायत, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेलाई शाखा अध्यक्ष अनुप बिक्रम मल्ल, बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई बझाड। शाखा अध्यक्ष रमेश सिंह, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटालाई सुर्खेत शाखा अध्यक्ष भगवती बि।सी, जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीलाई जुम्ला शाखा अध्यक्ष अनिता नेपाली, हुम्लाका प्रमुख जिल्ला अधिकारी श्री नाथ पौडेललाई हुम्ला शाखा अध्यक्ष तिर्थराज भण्डारी, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई जाजरकोट शाखा अध्यक्ष बिनोद आर।सी।, कर्णाली प्रदेश सदस्य शारदा पुन मगर, मुगुका सहायक प्रमुख जिल्ला अधिकारी खड्क बहादुर रोकायलाई मुगु शाखा अध्यक्ष चिन बहादुर शाही, बाजुरका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई शाखा अध्यक्ष प्रमिला थापा, प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनीलाई प्युठान शाखा अध्यक्ष जुमान सिंह के।सी।ले भ्रष्टाचार बिरुद्ध ज्ञापन पत्र बुझाएका थिए । १३ जिल्लामा एकै पटक शुद्धिकरण कार्यक्रम गरि ज्ञापन पत्र बुझाईएको हो ।
भ्रष्टाचार बिरुद्ध कुचो उपहार
जाजरकोट र मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भ्रष्टाचारीहरुलाई बढार्नका लागि भ्रष्टाचार बिरुद्ध कुचो उपहार प्रदान गरिएको छ ।


बाँकेमा ज्ञापन पत्र बुझाउन असहज
१२ वटै जिल्लामा भ्रष्टाचार बिरुद्धको ज्ञापन पत्र बुझाउन सहज भएपनि बाँकेमा ज्ञापन पत्र बुझाउन असहज भएको छ । सम्पूर्ण जिल्लामा कार्यक्रम बारे पूर्ब जानकारी दिईए पनि बाँकेका प्रमुख जिल्ला अधिकारी बिपन आचार्य ज्ञापन पत्र ग्रहण गर्न सांकेतिक धर्ना दिईएको स्थान गेट बाहिर आउन नमानेपछि धर्ना दिईरहेका बास नेपालका पदाधिकारीहरु प्रजिअको कार्यकक्षमैं गएका थिए । कार्यकक्षमैं पुग्दा पनि उनले ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारीलाई बुझाउन आग्रह गरेका थिए । प्रजिअलाईनैं ज्ञापन पत्र बुझाउने आयोजकले बताएपछि उनले ज्ञापन पत्र ग्रहण गरेका थिए । कार्यकक्षमा पनि सबैलाई जान दिईएन, चार जनालाई मात्र प्रबेश दिईएपछि उनीहरुले प्रजिअलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउँदा समेत प्रजिअ आचार्यले पदाधिकारीहरुले भ्रष्टाचार बिरुद्ध सन्देश उल्लेखित प्लेकार्डहरु नलगाउन अनुरोध गरेका थिए ।
ज्ञापन पत्र ग्रहण गरिसके पश्चात आचार्यले बास नेपालले भ्रष्टाचार बिरुद्ध गरेका कार्यहरुको प्रशंसा गर्दै भ्रष्टाचार बिरुद्ध कटिबद्ध भएर लाग्ने बताए । यसैगरी अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले पनि ज्ञापन पत्र ग्रहण गर्दै भ्रष्टाचार बिरुद्ध सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए ।

  • १५ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech