ठाकुरबाबाको जेसी अडिट सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ठाकुरबाबा नगरपालिका बर्दियाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) परीक्षण गरिएको छ । प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको सहयोग, ठाकुरबाबा नगरपालिका बर्दियाको आयोजना तथा बास नेपालको सहजीकरणमा मंगलबार उक्त परीक्षण सम्पन्न भएको हो ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक राम लम्सालको अध्यक्षतामा आज सम्पन्न लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको नतिजा उपर छलफल तथा अनुमोदन कार्यक्रममा नतिजा माथि छलफल गरी अनुमोदन गरिएको छ । छलफलको क्रममा कार्यक्रममा उपस्थित वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा सरोकारवालाहरुले नगरपालिकाले लैससासमा काम गरेको भए पनि दस्तावेजीकरणको अभावमा अपेक्षा अनुसारको नतिजा आउन नसकेको बताएका थिए ।

लैससास परीक्षणले कार्यक्रमसँगै कार्यान्वयन, रिपोटिङ र दस्तावेजीकरणको महत्वका बारेमा सजग गराएको बताए । उनीहरुले आगामी वर्षहरुमा पालिका भित्र हुने कार्यक्रमहरुको लैससास अनुरुप रिपोटिङ र दस्तावेजीकरण गर्ने बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख लम्सालले सबै शीर्षकमा पालिकाले बजेट विनियोजन गरेको बताउँदै भएका कामहरुलाई चुस्त दुरुस्त रुपमा दस्तावेजीकरण गर्न शाखा प्रमुखहरुलाई निर्देशन गरे । उनले गत वर्षहरुको तुलनामा नगरपालिका सुधारोन्मुख रहेको बताउँदै पदाधिकारी र कर्मचारीहरुले संयुक्त रुपमा जिम्मेवार भई कार्य गरेमा समृद्ध नगर निर्माण गर्न सकिने बताए ।

यसैगरी कार्यक्रममा बोल्दै नगर उपप्रमुख बिना कुमारी भट्राईले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण महत्वपूर्ण विषय भएकाले सबैले ध्यान दिनुपर्नेमा जोड दिए । जेसी मैत्री पालिकाका लागि विभिन्न कार्यहरु भइरहेको बताउँदै सामाजिक विकासको कार्यलाई बढावा दिन सबै शाखालाई अनुरोध गरिन् । अहिले नयाँ वर्षको योजना छनौटको कार्य भइरहेको भन्दै उनले लैससास परीक्षणमा उठेका विषयहरुलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा लैससासमा पालिकाले गरेका कामहरुका बारेमा प्रमुख प्रशासकीय अधिकृत राम हरी रिजालले जानकारी गराएका थिए ।

ठाकुरबाबा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख गोगनसरा आचार्यले सञ्चालन गरेको कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको नतिजा प्रस्तुतीकरणसँगै छलफल र कार्ययोजना निर्माणमा सहजीकरण बासका निर्देशक तथा परीक्षक हेमराज भट्टले गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख तिलक राम लम्साल, उप प्रमुख बिना कुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राम हरी रिजाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुख, विभिन्न सञ्जालहरुको सहभागिता रहेको थियो । परीक्षणको क्रममा नगरपालिका लैससासको आधारमा संवेदनशील छ÷छैन, पालिकाले प्रदान गर्ने सेवामा सहभागितामूलक तरिकाले महिला, आदिवासी जनजाति, अपाङ्ग तथा अन्य लक्षित वर्गको सशक्तीकरण गरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण हासिल गर्न कतिको सहयोग पुगेको छ, नगरको नीति, योजना र कार्यक्रम लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण दृष्टिले सन्तुलन भए नभएको पहिचान गर्ने, नगरकोे विकास प्रक्रियामा काम गर्दा, विकास कार्यक्रम तय गर्दा, साधन र स्रोतको बाँडफाँड र परिचालनलाई लैङ्गिक उत्तरदायी र सामाजिक समावेशी बनाउन कतिको प्रयास भएको छ ? लगायतका विषयलाई केन्द्रमा राखेर परीक्षण गरिएको थियो ।

  • २१ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech