मौवाको फूल टिप्न पूर्जी लागु गरिने

असल शासन प्रतिनिधि

नरैनापुर/ नरैनापुर गाउँपालिकामा आयोजित एक कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिले मौवाको फूल टिप्न जानेहरुको लागि पुर्जी जारी गरिने प्रतिबद्धता गरिएको छ । बैशाख ६ गते बुधबार बास नेपाल र वन डिभिजन कार्यालय बाँकेले आयोजना गरेको जैविक चौतारी कार्यक्रममा मौवाको फूल टिप्न जानेबाट नै वन डढेलोको समस्या आएको निष्कर्ष पश्चात उक्त प्रतिबद्धता गरिएको हो । त्यस्तै कार्यक्रममा  स्थानिय स्तरमा सचेतनामूलका कार्यक्रम संचालन गर्न पालिकाले आगामी वर्षमा बजेट विनियोजन गर्ने, चरिचराउको समस्या नियन्त्रण गर्न वन हेरालो र उपभोक्ता समितिलाई थप जिम्मेवार बनाउने प्रतिबद्धता गरिएको हो ।

वन संरक्षण र वनको अवसरबारे छलफल गर्न आयोजित कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मनोज कुमार शर्मा, वडा नं. १ का वडा सदस्य माबुल अलि शेष, सव डिभिजन वन कार्यालय नरैनापुरका प्रमुख जगविर खत्री, सिमा सरक्षा गुल्म नरैनापुरका स.प्र.स.हि. लिलाराम रोकाय, सशस्त्र प्रहरी सरण खत्री, इलाका प्रहरी कार्यालय नरैनापुरका प्र.ना.नि. पुस्कर राज जोशी लगाएत ३० जना सामुदायक वनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा नं. ४ का वडा अध्यक्ष मनोज कुमार शर्माले वन डढेलो नियन्त्रणका लागि पालिकाले सानो ट्रायकटरको व्यवस्था गरि पानी ट्याङ्कीको व्यवस्था मार्फत आगो नियन्त्रण गर्न सकिने र स्थानीय स्तरमा सचेतना जगाउने अति जरुरी रहेको बताए । त्यस्तै वडा नं. १ का वडा सदस्य माबु अलि शेषले समाजमा सचेतनाको अभावले वन डढेलो हुने गरेकोले त्यसको नियन्त्रणको लागि सचेतनामूलक कार्यक्रम जरुरी रहेको बताए । सव डिभिजन वन कार्यालय नरैनापुरका प्रमुख जगविर खत्रीले सामादायिक वनका उपभोक्ता समिति नै वन संरक्षणका लागि जिम्मेवार हुनु पर्ने तथा आफ्नै आम्दानीको केही हिस्सा समुदायमा सचेतनामूलक कार्यक्रमको लागि खर्चिनु पर्ने तथा वन डढेलो लगाउने, वन विनाश गर्ने जो कोहीलाई पनि वन ऐन अन्तर्गत कावार्ही गर्नु पर्ने बताए ।

कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले वन संरक्षण र वन डढेलो नियन्त्रका विषयमा सहभागिलाई अनुशिक्षण तथा प्रस्तुतिकरण गरेका थिए ।

  • ७ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech