त्यस यता बाँकेमा ठूलो परिणाममा सुन बरामद प्रहरीले गरेको थिएन । तर, बुधबार राती बाँके प्रहरीले विशेष सूचनाका आधारमा नेपालगन्जको न्यूरोड स्थित एक होटलमा छापा मार्यो र करिब ५ केजी सुनका गहनासँगै दुई जनालाई नियन्त्रणमा लियो । उक्त सुनको मूल्य ४ करोड ६९ लाख ५ हजार मूल्यांकन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार सुन बरामदीका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले ठूलो परिणाममा सुन रहेका दुई व्यक्तिलाई सोधपुछ गर्दा खरिद बिल प्राप्त नभएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा सुनको सिक्री, माला, वाला, चुरी, झुम्का, मुन्द्री, ब्रासलेट, हार, औठी गहना विरोटनगर महानगरपालिका वडा नं. ९ बस्ने रमेश सोनी र सोही ठाउँका प्रकाश ठाकुरबाट बरामद गरिएको जानकारी दिइएको थियो । प्रहरीले सोनीले बोकेको झोलाबाट सुनका गहना र ठाकुरको झोलाबाट इष्टिमेट बिल १ थान, डिजिटल तराजु १ थान, विभिन्न मितिमा विभिन्न स्थानमा बिक्री गरेको इष्टिमेट बिलहरू थान १४, एनआइसी एशिया बैकमा जम्मा गरेको ७ लाख ३३ हजार ४ सयको भौचर, प्रकाश ठाकुरको नाममा काटेको एनएमबी बैंकको ३ लाख ८६ हजार ४ सयको चेक, विभिन्न दरका ३५ हजार नगद बरामद गरिएको जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रमुख राठौरले सुन वैध भएको प्रमाण फेला नपरेपछि नियन्त्रणमा लिएको बताए ।