एमबीबीएस पढ्ने विद्यार्थीलाई बित्थडचिरको सहयोग

तेज बोहरा

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकाले एमबीबीएस अध्ययनका लागि एक जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

चालू आर्थिक बर्षको नीति कार्यक्रममा उल्लेख भए अनुसार पालिका भित्रबाट एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय रमेशबहादुर बिष्टका अनुसार बित्थडचिर-४ का ददिभान बोहरालाई छात्रवृत्ति स्वरुप तीन लाख रुपैयाँ सहयोग गरिएको छ । कर्णाली एकेडेमी एण्ड हेल्थ साइन्समा एमबीबीएस पढ्न बोहराले नेपाल सरकारको छात्रवृत्ति कोटामा पास भएका थिए ।

स्थानीय व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप एमबीबीएस पढ्ने विद्यार्थीलाई आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष अमर सिंह महरले बताए ।

‘यहाँका स्थानीयको स्वास्थ्य अवस्था कमजोर छ । बाहिरबाट सेवा दिन आउँछन् । आफ्नो क्षमता वृद्धि गर्छन् । तर जनताले सेवा कहिल्यै पाउँदैनन्,’ अध्यक्ष महरले भने, `गाउँपालिकाले सहयोग गरेका विद्यार्थीमा आफ्नो गाउँप्रति अपनत्वको भावना सिर्जना होस् र यहाँका स्थानीयलाई स्वास्थ्य सेवा दिऊन् भन्ने सोचेर पालिकाले सहयोग गरेको हो ।’ घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि छात्रवृत्तिमा नाम निकालेर पढिरहेको बेला पालिकाले गरेको सहयोगले राहत मिलेको बोहराले बताए ।

  • १२ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech