आठ कक्षाका विद्यार्थीको सिकाइ कमजोर

तेज बोहरा

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका शिक्षा शाखाले सार्वजनिक गरेको कक्षा-८ को नतिजामा विद्यार्थीको सिकाइ उपलब्धि निकै कमजोर देखिएको छ ।

पालिकाले सार्वजनिक गरेको नतिजामा सबै विद्यालयका विद्यार्थीहरुको सिकाइ उपलब्धि न्युन देखिएको हो । बित्थडचिर गाउँपालिकाले यस बर्ष कक्षा ८ को परिक्षा पालिका स्तरमा सञ्चालन गरि मुल्यांकन गरेको थियो ।

पालिकाका १२ विद्यालयका ५ सय १३ जना सहभागी विद्यार्थीको नतिजा सार्वजनिक गर्दा अधिकांश विद्यार्थीले न्यून दक्षता हासिल गरेका छन् । परीक्षणको क्रममा औषतमा गणित विषयमा ३२.३२ अंक, अङ्ग्रेजीमा २२.४५, विज्ञान बिषयमा २८.१०, नेपाली बिषयमा २५.२९ र सामाजिक बिषयमा २५.४८ अंक प्राप्त गरेका छन् ।

समग्रमा पालिकाको नतिजा अपेक्षितभन्दा निकै कम सिकाइ उपलब्धि देखिएको गाउँपालिका शिक्षा शाखा प्रमुख नरेन्द्र धामीले बताए । उनले धेरै विद्यालयको नतिजा निकै कमजोर आएको र ग्रेस अंक दिएर कक्षा वृद्धि गरिएको बताए ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रको विकासका लागि बि.सं. २०७३/०७४ देखि २०७९/०८० सम्मका लागि विद्यालय क्षेत्र विकास योजना लागू गरेको थियो ।

योजनाको अन्त्य २०७९/०८० सम्ममा कक्षा ८ मा गणित विषयको सिकाइ उपलब्धि ६०,नेपालीको ६२ र विज्ञानको ६० पुर्याउने लक्ष्य राखेको थियो । यसरी उक्त योजना सप्पन्न हुनै लाग्दा समेत बित्थडचिरको सिकाई उपलब्धि आधा पनि देखिएको छैन ।

यसरी पालिकामा विद्यार्थीहरुको शैक्षिक गुणस्तर खस्किदै गएको र सुधार गर्न आवश्यक रहेको शिक्षा शाखा प्रमुख धामीले बताए । उनले विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकासका लागि सरोकारवाला सबैले गम्भीर भएर लाग्नुपर्ने देखिएको धारणा राखे ।

  • १४ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech