अटो मार्फत समाज सेवा

माधव कार्की

नेपालगञ्ज/ दश बर्ष अगाडी कामको खोजीमा सुर्खेतको छिन्चु देखी नेपालगञ्ज झरेका ईशाक तामाङले अटो रिक्सा मार्फत समाज सेवा गरिरहेका छन् ।

कोठा बहालमा लिएर बसेका उनले रिक्शा चलाउँदै आयआर्जनका साथै समाजसेवा गरिरहेका हुन् ।

श्रीमती, एक छोरा र एक छोरीका साथ नेपालगञ्ज उपमहानगरपालिका २० राँझामा कोठा बहालमा बस्दै आएका ईशाकले शुरुवाती चरणमा ईट्टाभट्टामा ईट्टा लोड अनलोड गर्नुका साथै कोईला कुट्ने काम गर्र्दै आएका थिए । बिगत २ बर्ष अगाडी देखी आफ्नै अटो रिक्शा किनेर अटो चलाउँदै गर्दै आएका छन् ।

उनले आफ्नो अटोमा चढ्ने जेष्ठ नागरिकहरुलाई निःशुल्क र अपाङ्ग अशक्त ब्यक्तिहरुको लागि ५० प्रतिशत छुटमा सेवा दिदै आएका छन् ।

“एउटा सुन्दर मनका अगाडी सुन्दर अनुहार केही पनि हैन” भन्ने भनाईलाई आत्मसाथ गर्दै खुल्ला ह्रदयका साथ दिनमा ५/६ जना सम्मलाई निःशुल्क सेवा दिदै आएका ईशाक बताउँछन् । उनी भन्छन—एकदिन साँझ पख एकजना बृद्ध आमा बाटोमा बसेर अटोरिक्सा रोकिरहनु भएको देखे तर कुनै पनि अटोले उहाँलाई बसालेनन् सायद बृद्ध आमाबाट पैशा पाईदैन भनेर होला त्यसपछि मैले उहाँलाई बसालेर पुर्याउन गएँ । उहाँको घर पुग्दा उहाँ निकै सम्पन्नशाली हुनुहँदो रहेछ तर उहाँलाई परिवारको साथ रहेनछ । बिरह पोख्दै आमाले अटो भाडा दिन थाल्नु भयो तर मैले लिईन ।

त्यस्तै अर्को घटना उनले सुनाए– दिनभरी बागेश्वरी मन्दिर परिसरमा बसेर मागेर बेलुका घर फर्किने क्रममा एकजना अपाङ्गता भएका ब्यक्ति रिक्साको पर्खाईमा हुनुहुँदो रहेछ । सायद उहाँसँग नि पैशा छैन भन्ने सोचेर होला कुनै रिक्साले बसाल्न नमाने पछि मैले उहाँलाई उहाँको बासस्थान सम्म छोडें । उहाँले पनि भाडा दिन खोज्दै हुनुहुन्थ्यो तर मैले लिएन ।

उनले थपे–त्यसपछि नै मैले सोचें ब्यवसाय त मैले गरिनै रहेको छु, दिनमा एक हजार देखी पन्ध्र सय सम्म कमाई रहैकैछु त्यस्मा दिनमा पाँच सात जना लाई निःशूल्क सेवा दिएर मानबताको सेवा गर्ने अठोट गरें ।

जति सुकै सम्पन्न ब्यक्ति भएपनि बृद्ध अबस्थामा अरुको साथ पाउन गाह्रो भएको उल्लेख गर्दै २५ बर्षे ईशाकले आफनो रिक्सामा सुचना पनि टाँसेका छन् । जहाँ लेखिएको छ जेष्ठ नागरिक तथा बृद्धआमा बुवाहरुलाई सय प्रतिशत निःशुल्क र अपाङ्ग अशक्त ब्यक्तिहरुलाई अबस्था हेरेर पचास प्रतिशतका साथै निःशुल्क सुबिधा रहेका छ ।

बृद्ध बृद्धाहरुको बारेमा सरकारी स्तरबाटनै हुन नसकेको कुरा एकजना मनका धनी ईशाकले आफ्नै सक्रियतामा सेवा दिईरहेका छन् भने उनको अटोमा एक पटक सेवा लिईसकेका ब्यक्तिहरुको फोन आईरहेको हुन्छ । कोही कोही नयाँ ब्यक्ति जसले अटोमै चढिसकेपछि निशुल्क रहेछ भन्ने कुरा थाहा पाउनुहून्छ ।

तपाईं जस्तै अन्य अटो चालकहरुले पनि यसै गरी मानबिय कार्य गरे हुने नी भन्ने प्रतिनिधिको प्रश्नमा ईशाक भन्छन – हरेक ब्यक्तिले आ—आफ्नै ठाउँबाट जे सकिन्छ जसरी हुन्छ मानबिय कार्य गर्नुपर्छ । म अरुलाई एसो गरौं भन्नु भन्दा पनि अरुका लागि उदाहरण बन्न चाहन्छु ।

उनी थप्छन –आफ्नो बास बस्नको लागि घर छैन भाडामा बसिरहेको छु । अहिले सम्म श्रीमतीलाई एक जोर गहना सम्म बनाउन सकेको छैन । बच्चा बच्ची पढाउनै मुस्किल छ तर पनि आफुले सक्दो समाज सेवा गरिरहेको छु । उनले बृद्धबाआमाहरुलाई कतै जान आउन आबश्यक परेमा आफ्नो मोबाईल नम्बर ९८२५००३६२० मा सम्पर्क गर्न उनले आव्हान गरेका छन् ।

अन्तमा ईशाक भन्छन् –दिनहुँ  बाटोमा यात्रा गर्दै गर्दा बाटोमा धेरै मानिसहरु चोटपटक लागेर घाईते भएको देख्दा अब छिटै प्राथामिक उपचारको लागि फस्ट एडको सुबिधा पनि दिने सोचमा रहको र त्यस्का लागि केही कानुनी प्रक्रिया मिलाउनु पर्ने भएकाले ट्राफिक कार्यालयसंग समन्वय गरिरहेको उनले बताए ।

ईशाक जस्तै सबैको मन भईदिएको भए यो समाज कति परोपकारी हुन्थ्यो होला ? सबैले सोच्ने कि ?

  • १८ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech