बिद्युतले दियो यस्तो सूचना

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्जमा गर्मी बढ्दैछ, हरेक बर्षको गर्मीयाममा नेपालगञ्जमा बिद्युत अनियमित हुँदै आएको छ । यसै सन्दर्भमा नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रले के तयारी गरिरहेको छ ? यो आम चासोको बिषय हो ।

सार्वजनिक सरोकारको बिषयमा सूचना माग गरि आम नागरिकहरु समक्ष सूचना प्रबाह गर्ने उद्धेश्यले बिद्युतसँग मागिएको सूचना बिद्युत प्राधिकरण केन्द्रले १८ दिन पछि सूचना उपलब्ध गराएको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज १२ निवासी नमस्कार शाहले सूचना माग गर्दै चैत्र २८ गते निबेदन दर्ता गराएका थिए । ऐन बमोजिम १५ दिन भित्र सूचना उपलब्ध गराउनु पर्दछ तर बितरण केन्द्रले १८ दिन पछि बैशाख १५ गते सूचना उपलब्ध गराएको छ ।

शाहले गर्मियाम बढिरहेको समयमा बर्षेनि हुने बिद्युत अनियमिततालाई नियमित गर्नका लागि गरिएको तयारी बारे सूचना मागेका थिए । उनले बिद्युत सेवा प्रबाह नियमित गर्नका लागि त्यस कार्यालयबाट भएका पहलहरु र यस आ.ब.मा भएका सुधारका कार्यहरुको बिबरण मागेका थिए ।

जवाफमा बिद्युतले कम भोल्टेज भएको ट्रान्सफर्मर अपग्रेड गरिरहेको, कण्डक्टर तारलाई ०३ बाट ०५ राखिएको, बुस कटिंग गरिरहेको, फेज थप, ओभर लोड भएको फिडरलाई सवस्टेशनबाट अर्काे फिडरमा लैजाने तयारी भएको, ट्रान्सफर्मरको फ्युज नआओस् भन्नका लागि एलटि लाईनमा एमसिबि बक्स जडान गरिएको उल्लेख गरेको छ ।

बिद्युतले बिद्युत लाईन निरन्तर सुचारु राख्नको लागि ठाउँ, ठाउँमा डिस कनेक्सन राख्न पहल गरेको, सवस्टेशनमा रहेको ट्रान्सफर्मर र ब्रेकरको मर्मत कार्य गरेको, नानपारा देखि नेपालगञ्ज सम्म ३३ के.भि.ए. लाईनमा भएको रुखहरुको बुस कटिंग गरेको जनाएको छ । यसैगरी बिद्युतले बिभिन्न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गरेको वुस कटिंग लगायतका अन्य लाईन सुधारका कार्यहरु गरेको जनाएको छ ।

बिद्युत प्राधिकरण केन्द्रका सूचना अधिकारी भवानी चन्दले सूचना उपलब्ध गराएका हुन् । प्राप्त सूचनामा लेटरप्याड, चलानी, मिति उल्लेख छैन ।

  • २१ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech