खजुरामा सार्वजनिक सुनुवाई

असल शासन प्रतिनिधि

बाँके/खजुरा गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको वर्षौ देखिका समस्याको सुनुवाई भएको छ । बुधबार खजुराको मिनि पार्कमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले आफुहरुले प्रत्यक वर्ष गुनासो, प्रश्न र सुझाव दिँदै जाने तर त्यसको सुनुवाई नहुने, विगतका वर्षहरुका गौरवका आयोजनाहरुको निमार्ण हुन नसकेको, योजनाहरु निमार्ण गर्दा दिगो हुन नसकेको, सार्वजनिक सवारी साधनको सही प्रयोग हुन नसकेको, सूचना प्रवाहललाई व्यवस्थित गर्न नसकेको, शित भण्डारको संचालन हुन नसकेको, पालिकामा फाइलहरु हराउने गरेको, सडक पेटी अव्यवस्थित भएको, कर्मचारी भर्ना पारदर्शी नभएको, बेरुजुको समस्या बढ्दै गएको जस्ता प्रश्नहरु उठाएका थिए ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष डम्बर बहादुर वि.क.ले गौरवका आयोजनाहरु अन्तिम चरणमा पुगेको र अधिकाशं योजनाहरु यही आर्थिक वर्ष सम्म पूरा हुने, योजना निमार्ण गर्दा प्राविधिकको गहन अध्ययन र दिर्घकाल सम्म टिक्ने गरी सबैलाई लाभ हुने तरिकाले निमार्ण गर्ने, पालिकामा रहेको सार्वजनिक सवारी साधनको प्रयोगमा निश्चित मापदण्ड अनुरुप प्रयोगको व्यवस्था मिलाउने, अव्यवस्थित सडक पेटीलाई तत्काल खाली गर्न लगाउने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा जनताको प्रश्नहरुको जावफ दिँदै प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले कार्यालयमा फाइल हरानु राम्रो नभएको बताउँदै आगामी दिनमा त्यस्ता कमि कमजोरी हुन नदिने, सूचना प्रवाहको उचित प्रबन्ध मिलाउने तथा कार्यविधि बनाई लागु गर्ने, इन्धन खर्चलाई घटाउँदै लैजाने, आम नागरिलाई महसुुस हुनेगरी सेवा प्रवाहको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उठेका प्रश्नको जवाफमा वडा नं. २ का वडा अध्यक्ष धनराम ओली क्षेत्रीले आम नागरिकले समेत पालिकाको विकासमा साझेदारी गर्दै नैतिक र नागरिक उत्तरदायित्वबाट प्रस्तुत हुँदै पालिकाले आवश्यकता महसुस गरेको खण्डमा सहयोग गर्न तत्पर हुनुपर्ने बताए ।

उनले समय र परिवेश अनुसार प्रविधिको प्रयोग गर्दै सम्पूर्ण तथ्यांक पालिकाले राख्नु पर्ने र सो तथ्यांकको लागि नागरिकले समेत यथार्थ सूचना दिनु पर्ने र सोही आधारमा पालिकाबाट सेवा प्रवाह गर्न सहज, सरल र मितव्यायी हुने बताए ।

कार्यक्रममा जवाफ दिँदै वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर भण्डारीले बाटो पुग्न बाँकी रहेका विभिन्न टोलहरुमा प्राथामिकताको आधारमा आगामी वर्ष क्रमश बाटो निमार्ण गर्दै जाने बताए । कार्यक्रममा लक्षित वर्गको बजेट सोचे अनुरुप विनियोजन गर्न नसकेको बताउँदै पालिकाका उपाध्यक्ष मञ्जु मल्लले आगामी वर्षमा बजेटको दायरा बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

२५० बढि स्थानीयहरुको उपस्थिति रहेको कार्यक्रमको सहिजकरण बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तव्य बास नेपालका निवर्तमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बहिर्गमन अभिमत र नागरिक प्रतिवेदन प्रत्रको नजिता प्रस्तुत गरेका दिए भने पालिकाको यो आर्थिक वर्षको प्रगति प्रतिवेदन पालिकाका अध्यक्ष डम्बर बहादुर वि.क. ले प्रस्तुत गरेका थिए ।

  • २७ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech