भ्रष्टाचार बिरुद्ध नेपालगन्जमा खबरदारी सभा

असल शासन प्रतिनिधि

नेपालगन्ज/भ्रष्टाचार बिरुद्ध नेपालगन्जमा खबरदारी सभा गरिएको छ ।

भ्रष्टाचार बिरुद्ध जागौं अभियान अन्तरगत बैशाख ३१ गते सभा गरिएको हो । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजनामा नेपालगन्जको बिपि चौकमा उक्त खबरदारी सभा गरिएको हो ।

जिल्ला स्थित विभिन्न निकाय तथा संघसंस्थाहरुका प्रतिनिधि, युवा, बिद्यार्थीहरुको स्वस्फूर्त सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले नेपालमा फष्टाईरहेको भ्रष्टाचार र त्यसले देशलाई पारेको असरका बिषयमा बोलेका थिए ।

देशमा राजनीतिक नेतृत्व भ्रष्टाचारमा लिप्त हुनु र सरकारले भ्रष्टाचारीलाई कार्वाही गर्न नसक्नुको परिणाम यस्तो समस्या सिर्जना भएको सहभागिहरुको भनाई थियो ।

खवरदारी सभामा बोल्दै बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले भ्रष्टहरुको कुनै पनि जात नहुने र भ्रष्टाचार रोग भएकाले रोगलाई जति पाल्यो उती त्यसले गलाउँदै लैजाने बताए । सरकारले भ्रष्टाचारीलाई कुनै पनि हालतमा संरक्षण गर्न नहुने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै गैसस महासँघ नेपालका केन्द्रीय सदस्य तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले विश्व कै सुन्दर देश नेपाल भ्रष्टाचारीहरुका कारण विश्व मानचित्रमा बद्नाम भएको बताए ।

राजनीतिक नेतृत्व र सरकारको उदासिनताका कारण आम नागरिक भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिनु परेको जनाए । नक्कली भूटानी सरणार्थी काण्डमा संलग्नहरुलाई कार्वाही प्रक्रियामा ल्याउने राम्रो कार्य गरेको बताउँदै सरकारले त्यसलाई टुंगोमा पुर्याउनु पर्नेमा जोड दिए ।
यसैगरी हरित अभियन्त हेमन्तराज काफ्लेले देश चलाउछु भन्दै सदनमा जानेहरुको कालो कर्तुत नेपाली जनताले थाहा पाईसकेको भन्दै भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्नेमा उनको जोड थियो । यसैगरी बास नेपालकी केन्द्रीय सचिव दिला शाहले देशलाई लुटेर ब्यक्तिगत लाभ हाँसिल गर्ने बिरुद्ध सबै लाग्नुपर्ने बताईन् ।

यसैगरी कार्यक्रममा बोल्दै अधिकारकर्मी आलम खानले भ्रष्टाचारी जो कोहीलाई पनि सरकारले निर्मम कार्वाही गर्नुपर्नेमा जोड दिए । बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको खवरदारी सभामा धन्यबाद सहित समापन गर्दै बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले बासले भ्रष्टाचार बिरुद्ध खवरदारी सभा देशका ७७ ओटै शाखा मार्फत गर्ने गरी तयारी गरिरहेको बताए । उनले खवरदारी सभामा स्वस्फूर्त सहभागिता जनाउनुहुने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

  • ३१ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech