राप्ती सोनारीमा नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिकरण

असल शासन प्रतिनिधि

बाँके/बाँकेको राप्ती सोनारी गाउँपालिकाले आफ्नो सेवा प्रवाहको विषयमा नागरिकको सन्तुष्टिको अवस्था बुझ्न गरेको नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिकरण भएको छ । नागरिक सन्तुष्टि सेर्वेक्षण निर्देशिका २०६८ बमोजिम सार्वजनिक निकायले आफुले प्रवाह गर्ने सेवाको विषयमा नागरिकहरुको अनुभुति मापन गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक सन्तुष्टि सर्वेक्षण गर्ने व्यवस्था रहेको छ । सोही अनुसार ६६,४४५ जनसंख्या रहेको राप्ती सोनारी गाउँपालिकाले ९८४ जनालाई सर्वेक्षणमा नमुनाको रुपमा लिई उक्त सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणको जिम्मा पाएको बागेश्वरी असल शासन क्लव (बास नेपाल) ले जेष्ठ ७ गते आइतबार नतिजा सार्वजनिकरण गर्दै समग्रमा नागरिकहरु पालिकाको सेवा प्रवाह प्रति सकारात्मक देखिए तापनि भुक्तानी प्रक्रिया, योजना जाँचपास लगाएतको विषयमा भने असन्तुष्ट रहेको देखिएको छ । सर्वेक्षण अनुसार २३ प्रतिशत नतिजा पालिकाप्रति पूर्ण सन्तुष्ट रहेको, ६१ प्रतिशत नतिजा ठीकै सन्तुष्ट रहेको र १६ प्रतिशत नतिजा असन्तुष्ट रहेको देखिएको छ ।

४ ओटा विषयगत र २२ ओटा वस्तुगत गरि २६ ओटा प्रश्न सहित गरिएको सर्वेक्षणमा ५०३ जना महिला र ४०१ जना पुरुषलाई समेटिएको थियो । नतिजा सार्वजनिकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले नागरिक सन्तुष्टि सर्वेक्षणले नागरिकहरु प्रति सेवा प्रवाहको विषयमा थप संवेदनशिल हुँदै कार्य गर्नुपर्ने जरुरी देखिएको तथा कतिपय वडाले भने नागरिकलाई सन्तुष्ट पार्नको लागि योजना बनाई कार्य गर्नुपर्ने देखिएको बताए । निवार्चन अघि कुनै एक राजनीतिक पाटीबाट आए तापनी अबको बाटो भनेको आम नागरिकलाई समान रुपमा हेरी सोही बमोजिम जनप्रतिनिधिहरुले नागरिकलाई केन्द्रबिन्दुमा राख्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त र पारदर्शी बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले कर्मचारी र जनप्रतिनिधीहरुले समन्वयात्मक तवरले हातेमालो गर्दै नागरिकको सेवा प्रवाहमा जोड दिनुपर्ने बताए । सर्वेक्षणका केही सीमाहरु रहे तापनी नतिजाले भने कही हदसम्म अझै सजग भएर काम गर्नुपर्ने देखिएको र सोही अनुसार आफु्नो सम्पुर्ण कर्मचारीको टिमलाई कार्य सम्पादनमा कुनै गुनासो नआउने गरि कार्यसम्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए 

सर्वेक्षणको नजिता प्रस्तुतिकरण गर्दै बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले छोटो समयमा सर्वेक्षण सम्पन्न गरि नतिजा सार्वजनिक गरेको बताए । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सवै वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका शाखा प्रमुखहरु सहित ३८ जना सहभागी रेहेको कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech