बाँकेका चार घगडान

खगेन्द्र गिरि `कोपिला´

बाँके जिल्लाको राजनीतिमा कैयौं व्यक्ति उदाए, कैयौं व्यक्ति अस्ताए। तर विगत सात दशकको राजनीतिलाई हेर्दा बाँके जिल्लामा श्री ललित चन्द, डा.त्रिवेणि प्रसाद प्रधान, श्री फतेहसिंह थारु र श्री सुशिल कोइराला जत्तिको प्रभावशाली र राष्ट्रिय राजनीतिमा समेत चिनिएका अरु कोही देखिएनन्।

यी चार जनालाई 4 bigs of banke (बाँकेका चार घगडान) भन्ने गरिन्छ।

१) ललित चन्द:- शहीद दशरथ चन्दका भाइ ललित चन्द बाँकेको पहिलो निर्वाचित प्रतिनिधि हुन्। उनी १०१५ सालको संसदीय निर्वाचनमा बाँकेबाट सांसद चुनिएका थिए। उनी पञ्चायत कालमा पनि तीन पटक २०१९/२०२१/२०२७ मा बाँकेबाट राष्ट्रिय पञ्चायतको सदस्य चुनिएका थिए। उनी २०१६ जेठदेखि २०१७ पुससम्म निर्माण सञ्चार यातायत उपमन्त्री र २०१८ मंसिरदेखि २०१९ चैत्रसम्म निर्माण सञ्चार यातायत मन्त्री भएका थिए। उनी २०२२ मा राजसभा स्थायी समितीको सभापति र २०२५ मा राष्ट्रिय पञ्चायतको अध्यक्ष पनि भएका थिए। उनको २०४६ साल फाल्गुणमा ८० वर्षको उमेरमा देहावसान भएको थियो।

२) डा. त्रिवेणि प्रसाद प्रधान :- पाल्पामा जन्मेका चिकित्सक डा. प्रधानले नेपालगन्जमा तीन दशकभन्दा लामो समय क्लिनिक खोलेर सेवा दिएका थिए। उनी पहिलोपल्ट २०१६ साल जेठमा कांग्रेसको तर्फबाट संसदको माथिल्लो सदन (महासभा) को सदस्य चुनिएका थिए भने पञ्चायत कालमा दुई पटक २०२२ र २०२७ मा राजाद्वारा राष्ट्रिय पञ्चायतको सदस्य मनोनित भएका थिए।
२०१६ जेठमा उनलाई योजना उपमन्त्री र २०१७ भाद्रमा ग्रामिण विकासमन्त्री बनाइएको थियो। पञ्चायत कालमा उनी २०२३ श्रावणमा स्वास्थ्य, भूमिसुधार खाद्य र कृषिमन्त्री पनि बनाइएका थिए। भनिन्छ कांग्रेसमा हुँदा वीपीले र पञ्चायत कालमा राजाले डा. प्रधानलाई डा.तुल्सी गिरिको विकल्पको रुपमा अघि बढाउन खोजेका थिए तर उनी त्यसमा खरो उत्रिन सकेनन्। २०३१ सालपछि उनी पूर्ण रुपमा चिकित्सा सेवामैं केन्द्रित भएका थिए। उनी २०४८ सालमा ६६ वर्षको उमेरमा स्वर्गे भएका थिए।

३) फतेहसिंह थारु :- बाँकेका रैथाने नेताहरुमा फतेहसिंह थारू जति सफल र प्रभावशाली अर्को कोही देखिएन। १९९६ साल असोजमा जन्मेका श्री थारु थपुवा गाउँका जिमिन्दार देवीराम थारुका छोरा हुन् । उनले लखनौबाट एमए र डिएफएको शैक्षिक उपाधि प्राप्त गरेका छन्।
उनी हसनापुर गाउँपञ्चायतको प्रधानपञ्चबाट राजनीति आरम्भ गरि जिपं सदस्य हुँदै दुई पटक बाँके जिल्ला पञ्चायतको सभापति चुनिएका थिए। गाउँफर्क राष्ट्रिय अभियान केन्द्रिय समितिको सदस्य समेत भएका श्री थारु २०३८ र २०४३ मा दुई पटक राष्ट्रिय पञ्चायतको सदस्य चुनिएका थिए भने २०५१ मा संसद सदस्य पनि चुनिएका थिए।
सात पटक मन्त्री भएका श्री थारुले सञ्चार, शिक्षा, कृषि, वाणिज्य, उद्योग, आवास तथा भौतिक योजना र रक्षा मन्त्रालयको कार्यभार समालेका थिए। उनी तराईको रैथाने समुदायबाट नेपालको रक्षामन्त्री हुने पहिलो व्यक्ति हुन् ।

४) सुशील कोइराला – विराटनगरबाट नेपालगन्ज आएर राजनीति गरेका कोइराला २०४८/२०५६/२०७० मा तीन पटक बाँकेबाट सांसद चुनिएका थिए। उनले तीन दशकभन्दा लामो समय कांग्रेसको नेतृत्व तहमा बसेर महामन्त्री, उपसभापति र सभापति जस्ता पदमा काम गरेका थिए। सरकारी पदमा भने उनी धेरै बसेनन्। उनी २०७० माघदेखि २०७२ असोजसम्म नेपालको प्रधानमन्त्री भएका थिए। उनको २०७२ साल माघमा ७८ वर्षको उमेरमा निधन भएको थियो।

  • १० जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech