सुदूरपश्चिमका युवालाई राहदानी होइन, रोजगारी दिन्छौ : मन्त्री साउँद

असल शासन प्रतिनिधि

सुदूरपश्चिमका युवालाई राहदानी होइन, रोजगारी दिन्छौ :  मन्त्री साउँद

धनगढी १४ जेठ/सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले अब प्रदेश सरकारले युवालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएका छन् ।

आइतबार धनगढीमा युवालयले आयोजना गरेको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन्  । उनले अहिले सरकार बजेट र नीति तथा कार्यक्रम निर्माणकै चरणमा रहेकाले त्यसमा युवालाई प्राथमिकता दिने बताए ।

उनले भने, ‘हामी आगामी वर्षको बजेट ल्याउँदैछौं । त्यसमा हामी युवालाई पहिलो प्राथमिकतामा राख्छौं । युवालाई देश निर्माणमा सहभागिता गराउन सकिएन भने देशको विकास हुन सक्दैन भन्नेमा सरकार स्पष्ट छ ।’ यस्तै, उनले सुदूरपश्चिममा युवालाई राहदानी, होइन रोजगारी दिने वातावरण सिर्जना गर्ने बताए । सुदूरपश्चिमलाई समृद्ध बनाउने जिम्मेवारी युवा र राजनीतिकर्मीको काँधमा रहेको उनको भनाइ थियो ।

मन्त्री साउदले विगतमा राज्यका गलत ऐन, कानून र नीतिका कारण सुदूरपश्चिममा गरिबी, अशिक्षा र भेदभाव बढेको बढेको पनि बताए । सो कार्यक्रममा बोल्दै समाज कल्याण परिषदका कोषाध्यक्ष विनय लामाले सुदूरपश्चिममाका कुसंकार हटाउन, युवा, महिला शसक्तिकरण गर्न, गर्भवती र बालबालिका लागि पोषण कार्यक्रम सुदूरपश्चिम र कर्णालीमा आवश्यक रहेको बताए ।

यस्तै युवालयका अध्यक्ष सन्तोष महर्जनले युवा भनेको जोश मात्र नभई होस भएका युवा भएको बताएका छन् । हामी युवालाई जोश भएका युवा भन्छौँ, हामी जोशसँगै होश भएका युवा हौँ, होश गुमाएका युवा होइनौँ,’ उनले भने । उनले युवामा जोश र होश दुबै भएकाले युवाले आफ्नो उर्जाको प्रयोग सही ठाउँमा गर्नुपर्ने पनि बताए ।

दुई दिनसम्म सञ्चालन हुने सो महोत्सवमा युवा उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा अधिकतम युवालाई सहभागी गराई सो क्षेत्रका विज्ञहरूबाट अभिमुखीकरण प्रदान गरिने जनाइएको छ ।

  • १४ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech