नाम सत्य, काम असत्य !

अन्धबिश्वासले लियोे बालिकाको ज्यान

असल शासन प्रतिनिधि

बर्दिया/बाँसगढी–२ महादेवामा अन्धबिश्वासका कारण सर्पले डसेकि एक बालिकाको ज्यान गएको छ ।

स्थानीय श्यामबहादुर डाँगी र बिष्णुदेवीकी छोरी ओम कुमारी डाँगीको ज्यान गएको हो । सर्पको टोकाईबाट घाईते भएकी ओम कुमारीलाई उपचार गर्न अस्पताल लैजानुको साटो पास्टरको मन्त्रको भर पर्दा उनको समयमै उपचार हुन सकेन ।

घटना जेठ १ गते रातिको हो । भईंमा सुतेकी ओमकुमारी मध्ये रातमा आमा मलाई पेट दुख्यो भन्दै बाआमा सुतेको कोठाभित्र गईन् । आफ्नो हातमा केहिले टोके जस्तो अनुभूति भएको उनले आमाबुवालाई सुनाइन् । तत्पश्चात छोरी ओमकुमारीको हातमा केहीले टोकेको जस्तो दाग भेटाए, उनी सुतेको ठाउँमा पुग्दा त्यहाँ सर्प भेटियो, यसरी उनलाई सर्पले टोकेको पत्ता लाग्यो ।

पीडाले ओमकुमारी छट्पटाइन्, परिवारका सदस्यहरु आत्तिए । केही समय देखि सत्य वचन भन्ने धर्ममा उनीहरु लागेका रहेछन् । सत्य वचनका गुरुहरुले सर्प लगायतले टोकेमा ठिक गरिदिने गरेको कुरा श्यामहरुले सुनेका रहेछन्, तुरुन्तै उनीहरुले उक्त धर्मका पास्टरलाई सम्पर्क गरे । पाष्टर भनिने योगेन्द्रकुमारीले आफू उपस्थित हुन नसक्ने भन्दै फोनबाटै प्रार्थना गरिदिने बताउँदै ठिक भई हाल्ने बताईन् । सो कुरा भएपछि श्याम बहादुरहरु ढुक्क भए, योगेन्द्र कुमारीले फोनबाटै प्रार्थना गरिदिईन् ।

प्रार्थनासँगै योगेन्द्रकुमारीले ओमकुमारीलाई सुर्खानी खुवाउन लगाईन् । खुर्सानी खाएमा पिरो लागेको महसुस भएमा सर्पको बिष मर्ने र निको हुने उनले बताए बमोजिम उनीहरुले त्यसै गरे । तर यता ओमकुमारीको अवस्था भने बिग्रिदै गयो । बान्ता गर्ने, घाँटी बुझिए जस्तो भएको भन्दै उनी छटपटाउन थालिन् ।

बिहान पख झन उनलाई गाह्रो हुँदै गयो । छोरीलाई सन्चो भईहालेको ठानेर बजार निस्केका श्यामबहादुर घरमा छोरीलाई धेरै असहज भएको बताएपछि उनी घर फर्के, घर फर्किदा ओमकुमारीको अवस्था अत्यन्तै नाजुक भइसकेको थियो ।

अन्ततः उनीहरुले गाडीमा भेरी अस्पताल नेपालगञ्ज पुर्याए । बिडम्वना चिकित्सकहरुले उपचार गर्दा, गर्दै उनको निधन भयो । यसरी अन्धबिश्वासी र ढोंगिका कारण एक अवोध बालिकाको मृत्यु भएको छ ।

घटना पश्चात पाष्टर योगेन्द्रकुमारी घर्तीले लामो समय देखि सत्य वचनमा लागेर धेरैलाई निको बनाएको दावी गर्दै आफुले प्रयास गर्दा, गर्दै उनको मृत्यु भएको भन्दै माफि मागेकी छिन् ।

ओमकुमारीकी एक दिदी र दुई भाइ छन् । १६ वर्षीय ओमकुमारी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओरिलालपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

घटना पश्चात प्रहरीले योगेन्द्रकुमारी घर्तीलाई पक्राउ गरेको छ । मृतक ओमकुमारीका परिवारले घर्तीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech