बर्दिया अस्पताललाई मेरो प्रश्न ?

खुमेश सुबेदी

मलाई जेठ १५ गते साँझ कुकुरले टोक्यो, अर्को दिन समयमै जिल्ला अस्पतालमा पुगि रेबिजको भ्याक्सिन लगाएँ ।

दोस्रो पटकको डोज ०२/१९ र तेस्रो ०२/२३ मा लगाउनुपर्ने कुरा डक्टरले पर्चामा उल्लेख गर्नुभयो । सोहि अनुसार दोस्रो डोजको लागि १९ गते म जिल्ला अस्पताल पुगेँ, जब त्यहाँ पुगे अनि थाहा भयो कि भ्याक्सिन सकिएको रहेछ । मैले कहिले आउँछ भनेर सोध्दा र ३/४ दिन लाग्छ भन्ने जवाफ पाएँ र उहाँले बाँसगढि, बारबर्दिया, ठाकुरबाबा लगाएत कुनै ठाउँँमा कोसिस गर्नुस् त्यहाँ हुनसक्छ भन्नुभयो ।

त्यसपश्चात मन आत्तियो, मैले बारबर्दियाको सम्पर्क नम्बर लिएर सम्पर्क गरेँ र त्यहाँ पनि भ्याक्सिन भएको तर निकै कम भएकोले छिटै पुग्नुस् भनेपछि म कत्ति पनि ढिला नगरि बारबर्दियाको आर.सि. थारु मेमोरियल नगर अस्पताल पुगेर दोस्रो पटकको भ्याक्सिन लगाएँ ।
त्यसपश्चात मेरो मनमा थुप्रै प्रश्नहरु उठे ………….
रेबिज बिरुद्धको खोप जुन निश्चित समय भित्र लगाउनुपर्छ त्यति महत्वपुर्ण औषधिको अप्रर्याप्तता किन ? यसलाई पहिलेनै सकिदैछ भन्ने थाहा हुँदाहुँदै स्टकमा राख्न वा माग गर्न नमिल्ने हो ? कि सकिएपछि मात्र माग गर्नुपर्ने हो ? म संग साधन स्रोत थियो, म संग विभिन्न निकायसंग समन्वय गर्नें क्षमता थियो र सोहि अनुसार त्यहाँ पुगे र भ्याक्सिन लगाए तर जसको पहँचमा यो सब छैन उसले के गर्ने ? जे भएपनि होला भनेर कुरेर बस्ने ? यो जिल्ला अस्पतालको लापरबाहि हो वा भ्याक्सिन उपलब्ध गराउने निकायले गरेको नजरअन्दाज ? जिल्ला भित्रै रेबिजको कारणले मृत्यु भएका घटना सुन्नमा आएका छन्, यस्तो संवेदनशिल बिषयमा वेवास्ता किन ?

हरेक नागरिकले सरल र सहज तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्न पाउनुपर्छ, त्यसको सुनिश्चितता सम्बन्धित निकायले गरिदिनुपर्छ । जिल्ला अस्पताल जहाँ जिल्ला भरिका नागरिकले सेवा लिनको लागि आउछन तर त्यहाँनै यस्तो खालको समस्या आउछ भने आम सर्वसाधारण नागरिक कहाँ जाने ? यस बिषयमा सम्बन्धित निकायको ध्यान जाओस् र यस्ता किसिका समस्याले सर्वसाधारण व्यक्तिहरुले दुख भोग्न नपरोस साथै माथि उठेका सवाललाई सम्बन्धित निकायले प्रष्ट पारोस् ।

  • २० जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech