रक्तदान `जीवनदान´

खुमेश सुबेदी

आज विश्व रक्तदाता दिवस, मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुनमा रक्तदाता दिवस मनाईन्छ । वर्ष २०२३ को रक्तदाता दिवसको नारा “Give blood, give plasma, share life, share often” भन्ने रहेको छ ।

रक्तदान भन्नाले कुनै मानिसले स्वेच्छाले आफ्नो रगत दान गर्नुलाई बुझाउँछ । रगत मानिसको अभिन्न अंंग जस्तै हो । जब सम्म रगत रहन्छ तबसम्म मानिसको जिबन चलिरहन्छ । निश्वार्थ भएर कसैलाई केहि दिइन्छ भने त्यो दान हो यसकारण जसलाई रगतको अभाव छ उसलाई काम लाग्ने रगत दिईन्छ भने त्यसलाई रक्तदान भनिन्छ । आफुले गरेको रक्तदानले अरुको जीवन बच्ने हुनाले “रक्तदान जीवन दान” भनिन्छ ।

धार्मिक मान्यता अनुसार पनि दान गर्नु उत्तम कर्म मानिन्छ भने विज्ञानले पनि एकले दान गरेका रगत वा शरीरका अंगहरु अर्को व्यक्तिको शरीरमा लगाएर जीवन जोगाई रहेको देखिन्छ । यसकारण रक्तदान अति महत्वपूर्ण दान वा कर्म हो ।

रगत शरिरमा रहेको रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगाएतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्नछ । यसले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ ।

मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ ।

मानिस जिवित रहनका लागि रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरिरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ ।

रक्तदान गर्दा केही नोक्सान गर्छकि भन्ने गलत सोचले गर्दा पनि अझै धेरै मानिसले रक्तदान नगरेको देखिन्छ । एक अध्ययनका अनुसार नेपालमा १ हजार जना मध्यबाट जम्मा ४ जनाले मात्रै रक्तदान गर्ने गरेको पाईन्छ । यसको महत्वका लागि विभिन्न निकायले जनचेतनामुलक कार्यक्रम गर्नु जरुरी देखिन्छ ।

मानिस भएर जन्मिए पछि आफ्नो लागि त जसले पनि केहि न केहि गरिरहेको हुन्छ तर अरुको लागि भने सिमित व्यक्तिहरुले मात्र गर्न सक्छन् । हाम्रो जीवन अर्थपूर्ण बनाउनको लागि अरुको सेवामा पनि तत्पर रहनुपर्छ अनिमात्र खुशी र सुखी रहन सकिन्छ । हामिले एकपटक आफ्नो परिवारमा समस्या पर्दाको बखतलाई स्मरण गरेउ भने अरुको समस्या पनि आफ्नै जस्तो लाग्छ । तसर्थ रक्तदान प्रत्यक्ष मानव जीवन संग जोडिएकोले हामि एक सचेत नागरिकको हैसियतले यस पुण्य कार्यको लागि हात अगाडि बनाउन जरुरी छ ।

  • ३१ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech