बिधुत अनियमितता बिरुद्ध सुतेर बिरोध

असल शासन प्रतिनिधि

नेपालगञ्ज/अनियमित बिद्युत सेवा बिरुद्ध नागरिकहरुले आज नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका छन् ।

बास नेपालको नेतृत्वमा बिद्युत कार्यालय घेराउ गरिएको हो ।

नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रमा बिहान ११.०० बजे स्थानीयहरु बिरोधका लागि उपस्थित भएका थिए ।

बास नेपालको नेतृत्वमा जेष्ठ ११ गते बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुखलाई अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउँदा समेत बिद्युत सेवा अनियमित भएपछि आज स्थानीयहरु कार्यालय घेराउन गर्न बाध्य भएका थिए ।

४० डिग्रि तापक्रममा गुज्रिरहेको नेपालगञ्जमा बिद्युत अनियमित हुँदा स्थानीयहरु चरम मर्कामा छन् । घेराउ गर्न पुगेका स्थानीयहरुले बिद्युत अनियमितता बिरुद्ध चर्काे रुपमा नारावाजी गरे ।

आक्रोशित स्थानीयहरुले चर्काे गर्मीमा सडकमैं सुतेर बिरोध जनाए, सुतेरै नारावाजी गरे । सुतेरै नागरिकहरुले नारा लगाए – बिद्युत अयिमितता बन्द गर, गफ होईन, बिद्युत देउ, बिद्युत मनपरी बन्द गर, लोडसेडिङ तालिका देउ ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा बोल्दै युवा अभियन्ता साहिल अन्सारीले नेपाल बिद्युत प्राधिकरणले गर्मी याममा बिद्युत सेवा अनियमित गरि अपराध गरेको बताए । उनले आक्रोशित हुँदै भने– नेपाल बिद्युत प्राधिकरण होईन, नेपाल अपराधिकरण हो ।

बिरोध प्रदर्शनमा बोल्दै अर्का युवा अभियन्ता प्रकाश कुवँरले गैर जिम्मेवार बिद्युत बिरुद्ध नागरिकहरु एक हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै राजनीतिककर्मी बिनोद अग्रहरीले बिद्युत अनियमितताका कारण व्यक्तिगत सम्पत्तिमा क्षति पुगिरहेको उल्लेख गर्दै सो को क्षतिपूर्ति बिद्युतले दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले तत्काल बिद्युत नियमित नभए चर्काे आन्दोलन गर्ने बताए ।

कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले बिद्युत प्राधिकरणको चरम लापरवाहीले आम नागरिकहरुले सास्ति भोगेको भन्दै सो को चर्काे बिरोध गरे ।

कार्यक्रममा बास नेपालका रबिन्द्र बोहरा, राष्टि बुढा मगर लगायतले बोलेका थिए ।

कार्यक्रमको अन्त्यमा नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेललाई तीन दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाईएको छ । ज्ञापन पत्र नागरिक समाजका तर्फबाट नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

ज्ञापन पत्र ग्रहण गर्दै नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले समस्या समाधानका लागि बिद्युत लागिरहेको बताए ।

ज्ञापन पत्रमा नेपालकै बढि गर्मि हुने सहर मध्येको नेपालगञ्जका स्थानीयबासीहरु बिद्युत अनियमित हुँदा सास्ति भोग्न बाध्य भएको उल्लेख छ ।

हरेक बर्षको गर्मि समयमा जस्तै यस बर्षको गर्मियाम शुरु भएसँगै बिद्युत प्राधिकरणको मनपरी, अर्कमण्यता शुरु भएको छ –ज्ञापन पत्रमा भनिएको छ –कानुनी र कागजी रुपमा नेपालगञ्ज लोडसेडिंग मुक्त छ तर अघोषित लोडसेडिङ्ग छ । अदालतको आदेशलाई अवहेलना नगरे जस्तो हुने गरि अघोषित लोडसेडिङ्ग गर्ने गरिएको छ । बिभिन्न प्राबिधिक कारण देखाई बिद्युतले बिद्युत सेवा अवरुद्ध गर्ने गरेको छ । बर्ष भरि कानामा तेल हालेर सुत्ने गर्मि याममा ग्राहकहरुलाई सास्ति दिदै बिभिन्न बाहनामा बिद्युत अनियम अनियमित गर्नु गैर जिम्मेवारीको परकाष्टा हो ।

एक दिनमा बिद्युत सेवा कति समय, कहाँ, कहाँ अवरुद्ध हुने हो ? सो को जानकारी नदिई झ्याप, झ्याप बिद्युत सेवा काटिंदा त्यसको प्रत्यक्ष मारमा ग्राहकहरु पर्ने गरेको उल्लेख गर्दै ज्ञापन पत्रमा  बिद्युतकोे समस्या समाधानका लागि गरिएको पहल बारे आम नागरिकलाई सुसुचित गराउने कार्य तर्फ बिद्युत अग्रसर नहुनुका साथै नागरिकहरुको गुनासो व्यवस्थापन गर्न समेत नसकेको उल्लेख छ ।

बिद्युत अनियमितताका बिरुद्ध चार बुँदे ज्ञापन पत्र बुझाईएको हो । बुझाईएको ज्ञापन पत्रमा बिद्युत अनियमित हुनुको कारण आम उपभोक्तालाई थाहा हुने गरि आम सञ्चारका माध्यमबाट सार्वजनिक गर्न,  बिद्युत अनियमितता सम्बन्धमा बितरण केन्द्रले गर्न सक्ने कार्यहरु बारे लिखित जानकारी सार्वजनिक गर्न,  बिद्युत सेवा नियमित गर्नका लागि दिर्घकालिन उपायहरुका साथै बिद्युत सेवा अवरुद्ध हुने तालिका सार्वजनिक गर्न माग गरिएको छ ।

नागरिक समाजका मागहरु पूरा नभए चरणबद्ध आन्दोलनमा जाने नागरिक समाजका अगुवाहरुले जानकारी दिएका छन् ।

  • ३ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech