सहसचिव कुरुम्बाङ : जसले हरेक दिन नगरपालिकाको गाडीसम्म पुर्‍याउँछन् कार्यालयको फोहोर 

प्रशासन डटकमबाट

बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमा ट्याक्ट्ररमा फोहोरमैला राख्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले यसबाट कार्यालयको कार्य संस्कारमा ठूलो परिवर्तन ल्याएकोसमेत बताएका छन् ।

‘मलाई विश्वास गर्नुस्,नगरपालिकाको फोहोरमैला बोक्ने ट्रयाक्टरमा हाम्रो कार्यालय परिसरको फोहर पुर्‍याउने काम प्रत्येक दिन म र केही अधिकृत साथीहरू आफै गर्छौ’ उनले लेखेका छन् ‘यसले हाम्रो कार्यालयका कार्य संस्कारमा ठूलो परिवर्तन ल्याएको छ ।’ 

यत्रतत्र सर्वत्र चर्चित हुने होडबाजी चलिरहँदा सहसचिव कुरुम्बाङले पनि चर्चा बटुल्नकै लागि फोटो पोष्ट्याएका हुन् कि भन्ने लाग्नु अश्वभाविक होइन, तर उनी जहाँ जहाँ बसे त्यहाँको सेवा प्रवाहमा ल्याएको सुधार र त्यसले स्थानीय जनमानसमा पारेको प्रभावबाट पनि उनी साँच्चिकै उदाहरणीय कर्मचारी भन्न कर लाग्छ ।

बगैँचासहितको चिटिक्कको सफा कार्यालय परिसरबाटै पनि सहजै अनुमान लगाउन सकिन्छ कि सरसफाईदेखि हरियाली प्रवर्द्धनमा कुरुम्बाङ कति जाँगरिला र फुर्तिला छन् भनेर ।

२०७८ भदौ २९ देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको प्रमुख(सहसचिव) रहेका कुरुम्बाङ २०६७ जेष्ठ १८ देखि २०७८ भदौ २९ सम्म (उपसचिव) आधा दर्जन बढी जिल्लाको प्रमुख जिल्ला अधिकारी भई काम गरे ।

नेतृत्व क्षमताकै कारण उपसचिव हुँदा पनि सहसचिव प्रजिअ रहने जिल्लामा खटाइए । जहाँ तात्कालिक समस्या मात्रै समाधान भएनन् दिर्घकालीनरुपमा प्रभाव छोड्ने कामलेसमेत परिचित छन् कुरुम्बाङ । बाँके, बर्दिया, अछाम, ताप्लेजुङ, म्याग्दी, सोलुखुम्बु, दाङ, रुपन्देही र स्याङ्जामा सिडिओ रही सकेका कुरुम्बाङले २०५६ असार २७ गतेदेखि २०६७ जेष्ठ १८ गतेसम्म शाखा अधिकृत हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत बाँके र झापा जिल्लामा काम गरेका थिए ।

२०४५ मंसिर १२ गते देखि १२ पुष २०४९ सम्म नायव सुब्बाका रूपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट निजामतीमा प्रवेश गरेका कुरुम्बाङ २०४९ पुष १२ देखि २०५६ असार २७ गतेसम्म करिब ८ वर्ष नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टका रूपमा काम गरेका थिए ।

निजामती सेवाबाट सेनामा गएका उनी पुनः निजामती मै फर्केर पृथक् तवरले सेवा प्रवाह गर्दै आएका छन् । इन्टिग्रयाटी आइडल २०१८ बाट सम्मानित कुरुम्बाङ २००९ मा निजामती सेवा पुरस्कार र २०१३ मा प्रबल जनसेवा श्रीबाट विभूषित छन् ।

टेबुलमा बसेर गर्ने कार्यालयको कामसमेत पन्छाउने प्रवृत्ति बढी रहँदा प्रमुख भएर फोहोरमैलासमेत आफै पुर्‍याउने सहसचिव कुरुम्बाङ पथ मात्रै पछ्याउन सके कर्मचारीलाई हेर्ने आम नागरिकको दृष्टिकोण पक्कै बदलाव आउने छ ।

– प्रशासन डटकमबाट साभार

  • २१ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech