नाईस स्टोरी

नमस्कार शाह

उत्तरदायित्व बहन गरिरहेका पत्रकारद्वय दिक्षित र चौधरी

प्रिय मित्रहरु बिनय दिक्षित र हेमन्त चौधरीले नरैनापुर र राप्तीसोनारीमा बसेर पत्रकारिता मात्र गरिरहेका छैनन् सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् – बिभिन्न सामाजिक अभियानहरुको नेतृत्व लिएर । सरोकारवालाहरुलाई जवाफदेही बनाउन निरन्तर खवरदारी गरिरहेका द्वय उक्त क्षेत्रका बिश्वस्त समाचार श्रोत समेत हुन् । मानबिय कार्यमा समेत उत्तिकै सक्रिय मित्रहरुको सक्रियता प्रति उच्च सम्मान छ ।

चिरपरिचित यमनाथ

यमनाथ घिमिरे चिरपरिचित नाम हो । २०५८÷२०५९ साल देखि २०६२÷२०६३ सम्म नेपालगन्जलाई भाईब्रेट गर्ने काम उनले गरेका थिए । प्रेस क्लव अफ नेपालगन्जका नामबाट दिनहुँ पत्रकार भेटघाट, स्वागत, सम्मान कार्यक्रम गरि नेता र पत्रकार बिच साक्षात्कार गराउने कार्यको नेतृत्व उनले गर्थे । कुनै बेला मोफसलको ऋषी धमाला भनेर चिनिने उनी महेन्द्र बहुमुखी क्याम्पसको स्वबियु सदस्य थिए । सार्वजनिक निकायमा सूचना अधिकारीको व्यवस्था गर्नै पर्ने कानुनी व्यवस्था नभएको बेला उनी स्वबियुको प्रबक्ता थिए, सम्भवतः उनकै प्रस्तावमा प्रवक्ताको जिम्मेवारी उनले पाए होलान् । त्यो अभ्यास सूचना प्रवाहका निम्ति उत्कृष्ट थियो । केही समयको अन्तराल पछि उनी पुनः पत्रकारितामै फर्केका छन् । बर्दियालाई कार्य क्षेत्र बनाएका उनी हाल नेपाल पत्रकार महासँघको लुम्बिनी प्रदेश कोषाध्यक्षको जिम्मेवारीमा छन्

भ्रष्टाचार बिरोधी रोशन

यी मेरा पुराना साथी हुन् – रोशन अलि अन्सारी । जयसपुर नेपालगन्ज निवासी रोशनले बास नेपालको जयसपुर उपशाखाको अध्यक्ष हुँदै बाँके शाखा उपाध्यक्षको जिम्मेवारी बहन गरेका थिए । भ्रष्टाचार विरुद्धको अभियानमा बास मार्फत एक दशक बढि सहयात्रा गरेका उनी असल व्यक्ति हुन् । गाउँ–समाजमा हुने गलत कार्यको भन्डाफोर गर्दै आएका उनले तत्कालीन गाबिसमा भईरहेको अनियमितताको बिरुद्ध निरन्तर आवाज उठाए, सुनुवाइ नभए पछि गाबिसमा तालाबन्दी समेत गरे । तालाबन्दीको नेतृत्व गरेको भन्दै त्यसताकाका प्रहरी, प्रशासन प्रमुखले थुन्ने धम्की दिए, तर उनी डराएनन् । उनलाई कैयौं पटक प्रहरी, प्रशासनबाट दुःख दिने नियतले कार्यालय बोलाईयो, उनी प्रहरी, प्रशासन समक्ष पुगे तर डग्मगाएनन् । अबिछिन्न भ्रष्टाचार बिरुद्ध लागिरहेका उनी बिचमा आफ्नी छोरी गुमाउँदा लामो समय बिक्षिप्त बने । पुनः उनी भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय बनेका छन् । रोशनजी तपाईं जस्तो व्यक्तिबाट समाजले लाभ लिईरहेको छ, तपाईंबाट धेरै युवाहरुले उत्प्रेरणा लिउन् – शुभकामना ।
(नाईस स्टोरी असल शासनको नयाँ स्तम्भ हो, यस स्तम्भमा छोटो, छोटो कथाहरु प्रकाशन गर्ने गरिन्छ, यहाँहरुको मुल्याँकनमा कोही व्यक्तिहरु असल हुनुहुन्छ भने वहाँको बारेमा वा कुनै असल कथाहरु हामीलाई पठाउन सक्नुहुनेछ, जसलाई हामी यस स्तम्भमा प्रकाशन गर्नेछौं –सम्पादक)

 

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech