लम्पी स्किन रोगबाट हुम्लाका १६ सय ८२ पशु मरे

सुन्दर  रावत

सिमकोट/साउन १0, २०८० – जिल्लाभर पशुमा देखिँदै आएको नयाँ रोग लम्पी स्किनबाट १६ सय ८२ पशु मरेको पाइएको छ। जिल्लाका सात वटै गाउँपालिकामा बाह्र हजारभन्दा बढी यो रोगबाट संक्रमित भएका छन् भने पशु मर्ने संख्या पनि दैनिक वृद्धि हुँदै आएको छ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्णबहादुर रोकायाका अनुसार गत शुक्रबारसम्म जिल्लाभरिमा एक हजार ६ सय ८२ पशु लम्पी स्किनबाट मरेको बताउँदै दैनिक रूपमा लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या बढ्दै गएको छ।
उक्त रोग सात वटै गाउँपालिकामा पुगेको र पशु मर्ने संख्या पनि सात वटै गाउँपालिका छ। कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सात वटै गाउँपालिकामा यो रोगबाट पशु संक्रमित हुने र मर्ने संख्यामा नाम्खा गाउँपालिकामा ९ सय २९ पशु संक्रमित भएकोमा २२० को मृत्यु भएको छ भने सिमकोट गाउँपालिकामा एक हजार ६ सय ८ पशुको मृत्यु भएको छ।
त्यसैगरी, खार्पुनाथ गाउँपालिकामा एक हजार ९ सय ४६ पशुमा संक्रमण देखिएको २२४ पशु मरेका छन्। यता सबैभन्दा बढी पशु संक्रमित र मरेको गाउँपालिकामा सर्केगार्डमा ६ हजार १ सय ५५ संक्रमित हुँदा ५ सय ८० पशु मरेका छन् ।
त्यसैगरी, चंखेली गाउँपालिकामा एक हजार २६५ पशुमा संक्रमण देखिँदा २७० को मृत्यु भएको छ भने अदानचुली गाउँपालिकामा ५७१ पशुमा संक्रमण देखिँदा ५२ पशु मरेका छन्।
एक महिनाअगाडिसम्म मृत्यु हुने पशुको संख्या नौ सय थियो। त्यस्तै, ताजाकोट गाउँपालिकामा ३ सय ८७ पशु लम्पी स्किन रोगबाट संक्रमण हुँदा १ सय १५ को मृत्यु भएको छ। हालसम्म जिल्लामा लम्पी स्किनबाट बाह्र हजार ८ सय ८१ पशु संक्रमित भएका छन्।
यो रोग गाई, गोरु, बाच्छाबाच्छी, भैंसी, चौरी, जुमा, झोवा, घोडामा लागेको हो। कार्यालयले रोग नलागेका पशुलाई भ्याक्सिन लगाउने र संक्रमित पशुलाई उपचार गर्ने कार्य जारी रहेको जनाएको छ।

  • १० श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech