नाईस स्टोरीमा जोशी र रामानन्द

नमस्कार शाह

असल राष्ट्रसेवक जोशी

कृष्ण प्रसाद जोशी नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख हुन् । यो देशका सबै कर्मचारी खराव छैनन् असल पनि छन् भन्ने कुराको उदाहरणीय पात्र हुन् उनी । स्थानीय निकाय हुँदा देखि म उनलाई नजिकबाट चिन्दछु । सादा, सरल स्वभावका उनले लामो समय देखि उपमहानगरको सामाजिक बिकास शाखा सम्हालिरहेका छन् । उनले सम्हालिरहेको जिम्मेवारीका लागि उनी उपयुक्त पात्र हुन् । किनकी उनी आफैमा सामाजिक छन्, सामाजिक परिचालन र बिकासको महत्व उनले बुझेका छन् ।

कसैको केही नबिगार्ने, कसैबाट केही आशा नगर्ने उनी सबैलाई सहयोग गर्ने र सहज बनाउनका लागि सहजीकरणको भूमिका निर्वाह गर्ने गर्दछन् । जनप्रतिनिधिबिहिन अवस्थामा कर्मचारीतन्त्र हाबी भएका बेला तत्कालीन नगरपालिकालाई तहस नहस बनाईयो, त्यति बेला जोशी जस्तै केही सिमित कर्मचारीले नगरपालिकाको बचेखुचेको साख जोगाएका हुन् ।

काम गर्ने भन्दा कामचोर प्रबृत्ति कर्मचारीहरुमा हावी भएको बेला प्रभावकारी काम गर्ने कर्मचारी मध्येका अग्रणी कर्मचारी हुन् – जोशी । उपमहानगरमा त्यस्तो कर्मचारी संयन्त्र छ, जहाँ जो व्यक्ती उपमहानगर प्रमुख भएर आउँदा पनि केही फरक पार्दैन किनकी त्यही स्थायी संयन्त्रले उपमहानगर चलाउँछ । तर जोशीलाई जो जनप्रतिनिधि र प्रमुख प्रशासकीय आउँदा पनि फरक पार्दैन, उनी कसैको चाकडी गर्दैनन् । उनी सधैं आफ्नो कर्ममा तल्लिन हुन्छन् बरु उपमहानगर भित्रका बेथिति विरुद्ध कर्मचारीहरुको अगुवाई गरेर आन्दोलन गर्दछन् । यस्तै उनको कर्मका कारण उनी असल राष्ट्रसेवकको खोजी गर्ने कार्यक्रम integrity icon को उत्कृष्ट असल कर्मचारीहरुको सूचिमा दुई बर्ष अघिनै दर्ज भईसकेका छन् ।

अदृश्य नायक रामानन्द

यी हुन् – मेरा पुराना मित्र रामानन्द तमोली । जानकी गाउँपालिका ईन्द्रपुर निवासी तमोली बास नेपालका पुराना सदस्य हुन् । अपाङ्गता भएका व्यक्ति तमोली गाउँका रोल मोडल युवा हुन् ।

गाउँ–समाजमा रहेका सदस्यहरुको हक हितका लागि प्रयत्न गर्नु उनको दैनिकी हो, सधैं अरुको लागि हिँड्ने उनले आफ्ना लागि कसैसङ्ग आज सम्म केही मागेनन्, मागे त उनले सधैं अरुको लागि । उनले अधिकार मागे, जवाफदेहीता मागे । अन्याय, अत्याचार विरुद्ध खरो उत्रने तमोलीले अरुका लागि लड्दा, लड्दै आफ्नो चरम अभाव र आर्थिक बिपन्नतालाई भुल्दा सास्ती पाउन सम्म पाए ।

बयोबृद्द बुवा सहित परिवारको जिम्मेवारी बोकेका उनले अहिले घरकै अगाडि पसल खोलेर आत्मनिर्भरताको बाटो रोजेका रहेछन् । धेरै पछि भेट भयो उनसङ्ग खुशी लाग्यो । छन् गाउँ समाजमा यस्ता अदृश्य नायकहरु जसलाई चिन्दैनन् यो देशका शासकहरु ।

(नाईस स्टोरी असल शासनको नयाँ स्तम्भ हो, यस स्तम्भमा छोटो, छोटो कथाहरु प्रकाशन गर्ने गरिन्छ, यहाँहरुको मुल्याँकनमा कोही व्यक्तिहरु असल हुनुहुन्छ भने वहाँको बारेमा वा कुनै असल कथाहरु हामीलाई पठाउन सक्नुहुनेछ, जसलाई हामी यस स्तम्भमा प्रकाशन गर्नेछौं –सम्पादक)

  • १५ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech