किर्ते हस्ताक्षर गरेर रकम हिनामिना

असल शासन प्रतिनिधि

धनगढी १६ साउन/ डडेल्धुरामा किर्ते हस्ताक्षर गरी विपद् व्यवस्थापनको रकम हिनामिना गरेको खुलासा भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–४ को कार्यालयले विपद् व्यवस्थापनका सामाग्री वितरण गरेको भरपाईमा किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलासा भएको हो ।

स्थानियहरुको नक्कली हस्ताक्षर गरेर वडाध्यक्ष र वडा सचिवले रकम हिनामिना गरेको हुन् । उनिहरुले वडा कार्यालयले गत आर्थिक बर्ष २०७९/०८० मा विपद् व्यवस्थापन सामाग्रीहरु वितरण गरेको नक्कली हस्ताक्षर गरी भरपाई तयार गरेका छन् ।

भरपाईमा ३६ जनाभन्दा बढी स्थानियको नाम राखी किर्ते हस्ताक्षर गरेका छन् भने उनिहरुलाई त्रिपाल, टिन र ग्याविन जाली वितरण गरेको देखाईएको छ । नक्कली तयार गरिएको भरपाईमा १ थान त्रिपालको तीन हजार ८८८ रुपैयाँ, १ थान टिनको ७३८ रुपैयाँ र ग्याविन ३२०७ रुपैयाँ दर राखीएको छ ।

यसरी किर्ते हस्ताक्षर गरी झण्डै दुई लाख १३ हजार १७९ रुपैयाँ बराबर हिनामिना गरेको देखीएको छ । वडा कार्यालयबाट विपद् व्यवस्थापनको शिर्षकमा ६५ हजार २४९ रकम विनियोजन गरिएको भएपनि विभिन्न शिर्षकबाट रकमान्तर गरी अनियमितता गरेको खुलेको हो ।

भरपाईमा हस्ताक्षर गरेका कुनैपनि स्थानियले सामाग्री र नगद केहीपनि नपाएको गुनासो गरेका छन् । हामी संग गरेको कुराकानिमा स्थानिय तारा रावतले भरपाईमा आफ्नो नामपनि देखेपछि अचम्मा परेको बताएका छन् । आफुले हालसम्म वडा कार्यालयबाट कुनै सामाग्री नपाएको वा रकम नबुझेको र हस्ताक्षरपनि आफ्नो नभएको बताए ।

यता वडा कार्यालयले तयार गरेको भरपाईमा भने उनको नाममा १ थान त्रिपाल वितरण गरिएको उल्लेख गरिएको छ भने तीन हजार ८८८ रुपैयाँ बुझिलिएको किर्ते हस्ताक्षर गरिएको छ ।

यस्तै अर्का स्थानिय हिक्मत रावलको नाममा त्रिपाल १ थान टिन ६ थान वितरण गरिएको र ६ हजार ५८८ रुपैयाँ बुझिलिएको किर्ते हस्ताक्षर गरिएको छ । उनले पनि वडा कार्यालयबाट कुनैपनि स्थानियले सामाग्री वा नगद केहीपनि नपाएको र हस्ताक्षर पनि आफ्नो नभएको बताएका छन् ।

यस बिषयमा सोही वडाका वडा सचिव केशवराज ओझाले आफुलाई जानकारी नभएको र गत बर्ष बाढी पहिरो आएको बेला वितरण गरेको हुनसक्ने बताए । यस्तै नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले गुनासो आएको र भोली छानबिन हुने बताए ।

  • १६ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech