तीन गाउँको ९० रोपनी धान खेतीमा क्षति

सुन्दर रावत

हुम्ला सिमकाेट/ सर्केगार्ड गाउँपालिकाका तीन वटा गाउँमा ९० रोपनी जग्गामा लगाएको धान तथा कोदो चिनाे कागुनाे  खेतीमा क्षति पुगेको छ। गत शुक्रबार राति गएको पहिरोले उक्त गाउँपालिकामा रोपाइँ सकेर गोडमेल गर्ने तयारी भएको धान र गोडमेल गरेको कोदो खेतीमा क्षति पुगेको हो।

सर्केगार्ड गाउँपालिका–२ का रमेश महताराले ३० रोपनी रोपाइँ सकेर गोडमेल गर्ने समय भएको धान खेतमा क्षति पुगेको बताए।

माथिबाट आएको पहिरोले धान रोपेको खेत नै बगाएको कारण सम्पूर्ण रुपमा क्षति भएको हो। यसबाट रिप गाउँकी सीता परियारको पाँच वटा खेत पहिरोले बगाएको छ। यता सोही गाउँपालिका–३ को उनापानी गाउँका दानबहादुर फडेराले जिउलामा पहिरोले २० रोपनी धान र कोदो खेती गरिएको जग्गामा क्षति पुगेको बताए।

जिउलाको उनापानी खोला छेउको खेतलाई कामै नलाग्ने गरी धान लगाएको खेतलाई बगाएर लगेको छ। धान लगाएर खेत नै बगाएपछि किसान चिन्तित भएका छन्। यता, सर्केगार्ड गाउँपालिकाकै वडा नम्बर ८ को राहदेव गाउँको ४० रोपनी जग्गामा लगाएको चिनो, कोदो, सिमी, भटमासलगायत बालीलाई क्षति पुर् याएको सर्केगार्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावतले बताए।
जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले एउटै गाउँपालिकाको तीन वटा गाउँमा गरी ९० रोपनी जग्गामा लगाएको धानलगायत बालीमा क्षति पुगेको बताए।

गत शुक्रबार बेलुका र शनिबार दिउँसो परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोले नोक्सानी गरेको हो। त्यसैगरी, पहिरोले सर्केगार्ड गाउँपालिका–६ को छ्यागी गाउँमा एउटा कृषि फर्ममा लगाएका एक सय ५० बोट स्याउ र ५० बोट दाँते ओखर बगाएको छ।

  • १९ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech