उडान अनियमित भएपछि परीक्षा प्रभावित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जबाट जहाजले नियमित उडान नभरेपछि हुम्लामा परीक्षा प्रभावित भएको छ। नागरिक उड्डयन प्राधिकरणले दुर्गम जिल्ला हुम्लाको समस्या नबुझेरै साउन १२ गते शुक्रबारदेखि नयाँ उडान तालिका निकालेपछि परीक्षा प्रभावित भएको हो।

राष्ट्रिय सडक सञ्जालसँग समेत नजोडिएको हुम्लाको एक मात्र यातायात हवाई हो।उडान नहुँदा त्रिभुवन विश्वविद्यालयले तोकेको समयमा प्रश्नपत्र नपुगेपछि आइतबार बिए र बिएड दोस्रो वर्षका विद्यार्थी मर्कामा परेका छन्।

हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख दीपक भण्डारीका अनुसार बिए र बिएड दोस्रो वर्षको प्रश्नपत्र नपुगेपछि त्रिविले इमेलबाटै प्रश्नपत्र पठायो। सोही प्रश्नपत्र फोटोकपी गरी ४५ मिनेट ढिला मात्रै परीक्षा सञ्चालन गरिएको भण्डारीले बताए।

आइतबार बिएतर्फ कोड नम्बर (४०२) भएका विषय र बिएडतर्फ शैक्षिक मनोविज्ञान (४२१)को परीक्षा थियो। क्याम्पस प्रमुख भण्डारीका अनुसार मानसरोवर बहुमुखी क्याम्पसबाट ७३ परीक्षार्थी उपस्थित थिए।

  • २८ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech