आर्थिक अनियमिततामा चुर्लुम्म डुबे अधिकृत पौडेल

कार्यकक्षबाट निकालिए हाकिम, कर्मचारीहरुद्वारा पेन डाउन

माधव कार्की

बर्दिया/ बर्दियाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रशाद पौडेल आर्थिक अनियमिततामा चुर्लुम्म डुबेपछि स्थानीय नागरिकहरुले कार्यकक्ष बाटै समातेर कार्यालय बाहिर निकालिदिएका छन् ।

कार्यालयका हरेक सामान खरिद प्रक्रिया देखी लिएर स्थानीय स्तरमा नौकरी लगाईदिए बापत लाखौं रकम झ्वाम पार्ने गरेको र महिला कर्मचारीहरु माथि कुदृष्टी राख्दै आएको जनगुनासो आए पछि नागरिक समाज र क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले सोमबार प्रमुखको कार्य कक्षमै पसेर उनलाई कार्यालय बाहिर गलहत्याएका हुन् ।

पालिका अन्तर्गत बिभिन्न राहत देखी करार भर्ती लाई आफ्नो मुठीमा राख्न खप्पिस प्रमुख पौडेलले नौकरी लगाईदिए बापत १ लाख ३५ हजार देखी २ लाख सम्म असुल्ले लगायतका हर्कत दिनहुँ बढ्दै गएपछि स्थानीय सचेत नागरिकहरु मिलेर बिभिन्न मिडियाहरुको साथ उनलाई जिल्ला प्रहरी कार्यालयमा बुझाउने भन्दै कार्यालय बाहिर निकालिएको थियो । आर्थिक अनियमितताको प्रमाण सहित प्रमुखको कार्यकक्षमै प्रबेश गरेको क्रान्तिकारी समुहले उनलाई अख्तियारमा बुझाउने भन्दै ईलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।

सुर्खेत भेरीगंगा नगरपालिकाबाट काण्ड मच्चाएर बर्दिया आईपुगेका प्रमुख पौडेललाई भ्रष्टाचारी मुर्दाबाद, भ्रष्ट कर्मचारी राजीनामा दे भन्दै १८ देखी २० जनाको समुह कार्यकक्षमा पसेर हातपात गरेको नगरपालिकाकै एक कर्मचारी बताउँछन् । नाम नबताउने शर्तमा उनी थप्छन् “गलत भएमा कार्बाहीको लागि कानुनी प्रक्रिया हुदाँहुदै पनि यसरी हुल हुज्जतका साथ कार्यालय प्रबेश गर्नु गलत हो” ।

पालिकाकै उद्यम बिकास शाखामा कार्यरत उद्यम बिकास सहजकर्ता कुष्ण पाण्डे स्वयं पीडित रहेको घुस काण्डमा प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफुले पैशा नलिएको भन्दै लाचारीपन देखाईरहेको भिडियोमा प्रष्ट देख्न सकिन्थ्यो ।

बाँसगढी नगरपालिकालाई भ्रष्टाचार मुक्त समुन्नत, सुन्दर र समृद्ध पालिका बनाउँछौं भन्दै कुर्लने जनप्रतिनिधिहरु कोही रास लिलामा लिप्त हुन्छन् भने कोही जनप्रतिनिधि आफ्नै कार्यालयमा भ्रष्टाचारले ठसठसी गन्हाउँदा पनि निदाएर बसेको देखिन्छ । कर्मचारीहरुमा ब्यापक रुपमा भ्रष्टाचार मौलाउनुमा जनप्रतिनिधिहरुको पनि हात रहेको हुनसक्ने स्थानीय भुक्तभोगी बताउँछन् ।

प्रमुखको यो काण्ड बाहिरियसँगै पालिकासँग रुष्ट बिभिन्न ब्यक्ति तथा समुहहरुले आफ्ना आवाजहरु पोख्दै आएका छन् । युवा क्लवहरुले पालिकासँग समन्वय गरी खेलकुदको आयोजना गरिसकेर रकम निकासाको लागि दशौं पटक कार्यालय धाउँदा पनि रकम निकासा नगरेको गुनासो देखी जेष्ठ नागरिकको भत्तामा पनि हिनामिना गरेको गुनासो बाहिर आउन थालेको छ ।

श्रावणमा पाईने जेष्ठ नागरिक भत्ता बितरण भैसके पनि पालिका भरीका एक सय असी जना जेष्ठ नागरिकहरुको भत्ता अझै पनि नदिएको गुनासो गर्छन् पीडितहरु । मृत भईसकेका ब्यक्तिहरुको समेत बृद्ध भत्ता कर्मचारीहरुलेनै बुझेको हुनसक्ने पीडितहरुको गुनासो छ । बाँसगढी २ की एक पीडित महिला नाम नबताउने शर्तमा भन्छिन् –गाउँमा सबैले भत्ता पाईसके तर आफ्नो ६१ बर्षिय आमाले पाउनु भएको छैन । साथै उनले वडाका जनप्रतिनिधिहरुसँग बुझ्दा चित्तबुझदो जवाफ नदिएको र पालिकाका कर्मचारीलाई फोन गर्दा पनि झर्किएर फोन काट्ने गरेको दुःखेसो पोख्छिन् ।

एक स्रोतका अनुसार, नगरमा भर्खरै भएको एक करार जागिरको लागि राम्रो अकं ल्याएर उतिर्ण भएपनि पालिकाका केही सुण्ड मुण्डको समुहले अर्कै ब्यक्तिको लागि लबिङ गरिरहेको बताईन्छ । भ्रष्टहरुको नाईकेको बचाउ गर्दै नगरपालिकाका कर्मचारीहरुले मंगलबार पेन डाउन गरेका थिए । पेन डाउन बिहान दश बजे देखी २ बजे सम्म गरिएको थियो पालिकाका एक कर्मचारीले नाम नबताउने शर्तमा जानकारी गराए ।

प्रमुखको आर्थिक चलखेलको काण्ड बाहिरिए सँगै स्थानीय नागरिक र राजनैतिक दलका प्रतिनिधिहरुले दोषीलाई कडा भन्दा कडा कार्बाहीको माग राख्दै यो घटनालाई यसै सामसुम पार्न नहुने बताउँछन् । त्यसैगरी घटनाको सत्य तथ्य छानबिन गर्नु पर्ने माग राख्दै नेपाली काँग्रेस बाँसगढी नगर कार्यसमितिले मंगलबार प्रेस बिज्ञप्ती निकालेको छ । प्रेस बिज्ञप्तीमा कर्मचारीहरुले पेन डाउन गर्नु भन्दा एउटा निष्पक्ष छानबिन समिति बनाएर दोषी पत्ता लगाई समस्या समाधान गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस बारेमा थप कुरा बुझ्न खोज्दा प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल लगायत प्रमुख, उपप्रमुखसँग सम्पर्क हुन सकेन । भिडियोमा देखिने कर्मचारी उद्धम विकास शाखाकी सहजकर्ता कृष्णा पाण्डेले यस बारेमा आफु बोल्न नचाहेको बताईन् ।

  • ६ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech