अदालतबाट अन्तरिम आदेश जारी, उद्योग वाणिज्य संघमा लागेको ताला खुल्यो

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज उद्योग वाणिज्य संघमा लागेको तालावन्दी खुलेको छ ।

संघको निर्वाचनमा महासचिव पदको नतिजा घोषणा गर्दा सम्पुर्ण मतपत्र गणना नगरी सार्वजनिक गरिएको भन्दैं साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले गत शुक्रबार संघको कार्यालयमा लगाईएको ताला सोमवार तालावन्दी खुलेको हो ।

गत भदौं २ गते भएको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको मतगणनाका क्रममा निर्वाचन आयुक्त टिकाजंग सिंहले महासचिव पदको सम्पुर्ण मतपत्र गणना गर्न बाँकी रहेको अवस्थामा नतिजा घोषणा गरेका थिए । उनले नतिजा घोषणा गर्दा महासचिव पदका उम्मेदवार भिमराना भाटलाई ६ मतले विजयी भएको घोषणा गरिएको थियो ।

रानाभाटले १०२६ मत र उनका प्रतिस्पर्धी टंक प्रसाद शर्माले १९२० मत पाएको घोषणा गरिएको थियो । जानकारी अनुसार, केही मतपत्रहरु मतगणना गर्न बाँकी थियो । जुन मतपत्र खामबन्दी गरेर राखिएको थियो । निर्वाचन आयुक्तले हतारमा नतिजा घोषणा गरेपछि त्यसको पक्ष र बिपक्षमा बिरोध सुरु भएको थियो । जसले निर्वाचनलाई विवादित बनाउँदै लगेको छ ।

विवादसँगै महासचिव पदका उम्मेद्धार टंक प्रसाद शर्माले पुनः मतगणनाको माग राख्दै निवेदन दिएका थिए भने प्रजातान्त्रिक समूहले निर्वाचन आयुक्तको कार्यालयमा ताला लगाएका थिए । अर्को दिन विहान ८ बजे देखि महासचिव पदको पुनः मतगणना गर्ने भन्दै निर्वाचन आयुक्तले विज्ञप्ती जारी गरेका थिए तर दोस्रो दिनपनि उनी बिरामी भएको भन्दैं अस्पतालमा भर्ना हुँदैं तिन दिनका लागि निर्वाचन सम्बन्धी काम स्थगित भएको जानकारी गराएका थिए ।

तिनदिन पछि पुरानै निर्णय कार्यान्वयन भएको जवाफ दिएपछि निर्वाचन आयुक्त सिंह थप विवादमा तानिएका थिए । सिंहको क्रियाकलाप कानुन विपरित भएको भन्दैं प्रजातान्त्रिक समुहले चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेका थियो । सोही विषयलाई लिएर अदालतमा समेत मुद्दा परेको थियो ।

सोमबार उच्च अदालत तुलसीपुर नेपालगन्जका न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालले तत्कालको लागि निर्वाचन समितिले गरेको निर्णयहरु कार्यान्वयन नगर्नु भनेर अल्पकालिन अन्तरिम आदेश दिएपछि तालाबन्दी खुलेको हो ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका संयोजक सजंय थापाले संघमा लगाएको तालाको साँचो नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरी चुन्नालाई दिएर तालाबन्दी खेलेका थिए ।

संघको गत भदौं २ गते भएको निर्वाचनमा महासचिव पदका उम्मेदवार टंक प्रसाद शर्माले निर्वाचन समितिलाई विपक्षी बनाई उच्च अदालत तुलसीपुर नेपालगन्जमा मुद्दा दायर गरेका थिए । शर्माको निवेदन र मिसिलको अध्ययन गर्दै तत्कालको लागि निर्वाचन समितिले गरेको सम्पुर्ण निर्णयहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।

अदालतले १५ दिन भित्र विपक्षी नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन गराउन गठित निर्वाचन समितिलाई आफुले गरेको निर्णयको आधार, प्रमाणहरु सरकारी वकिल मार्फत पेस गर्न आदेश दिएको छ ।

निर्वाचन अधिकृत टिकाजंग सिंहले पुनः मतगणना गर्न परेन भनेर दिएको आदेश विद्यमान निर्वाचन सम्बन्धि कुन ऐन नियम, उद्योग वाणिज्य संघको विधान, नीति नियमका आधारमा गरिएको हो भन्ने स्पष्ट नदिएकोले यसको वैधानिकता परिक्षण गर्न आवश्यक देखिएको अन्तरिम आदेशमा उल्लेख गरिएको छ ।

साथै आदेशमा विपक्षबाट हुन सक्ने गैर कानुनी कार्य तत्काल रोक्न पर्ने देखिएकोले भदौ १८ गते सम्मको लागि निर्वाचन अधिकृतले गरेको निर्णय कार्यान्यन नगरी यर्थाशिघ्र राख्न उल्लेख गरिएको छ । भदौं १८ गते सम्म बिपक्षी भीम रानाभाटलाई महासचिव पदमा निर्वाचितभएको घोषणा नगर्नु, प्रमाणपत्र, सपथ ग्रहण र सो पदको हैसियतमा कुनै काम नगर्नुका साथै निर्वाचन समितिले गरेका काम व्यवहारहरु कार्यान्वयन नगर्न आदेश दिइएको छ ।

आदेशमा गणना नभएका, गणना भएका मतपत्रहरु, मुचुल्काहरु सुरक्षित राख्नको लागि उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) (क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ । साथै आगामी भदौं १८ गते छलफलका लागि बिपक्षीलाई बोलाइएको छ ।

  • १२ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech