पर्शुरामका स्वास्थ्यकर्मीलाई सामाजिक व्यवहार परिवर्तन तालिम

असल शासन प्रतिनिधि

डडेल्धुरा / डडेल्धुराको पर्शुराम नगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि सामाजिक व्यवहार परिवर्तन, सञ्चार र मानव केन्द्रीत  सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

युनिसेफ नेपालको सहयोग र बास नेपालको आयोजनामा पर्शुराम नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीलाई तीन दिने तालिम मंगलबार सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा बोल्दै नगरपालिका उप–प्रमुख बिमला कुमारी बोहराले स्वास्थ्यकर्मीहरु लाई तीन दिन सम्म दिईएको तालिमले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा टेवा पुर्याउने बताइन् । उनले पालिकाका दुर्गम बस्तिहरुमा अझैपनी धेरै बालबालिकाहरुले खोप नपाएको हुँदा त्यस क्षेत्रमा स्वास्थ्यकर्मीहरुले ध्यान दिनुपर्ने बताउँदै उपप्रमुख बोहराले यस्तै व्यक्तिगत व्यवहार, कार्यशैलीमा परिवर्तन आउने र त्यसले समुदायमा सकरात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन ।

यस्तै समापन कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर सिंहले नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुका लागि आयोजना गरिएको क्षमता अभिवृद्धि तालिमको आयोजना गर्ने संस्था युनिसेफ नेपाल र बास नेपाललाई धन्यवाद गरे । उनले सामाजिक व्यवहार परिवर्तन र खोप अभियानका क्षेत्रमा काम गर्न स्वास्थ्यकर्मीहरुलाई थप उर्जा प्राप्त भएको समेत धारणा राखे ।

यस्तै युनिसेफ नेपालका प्रकाश आचार्यले स्वास्थ्य अन्तर्गत हुने कार्यमा सहकार्य गर्दै स्वास्थ्यको पहुँचमा रहेका व्यक्तिलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउन सहयोग गर्ने बताए । उनले स्वास्थ्य सुचकहरु सुधार गर्न पहल तथा पैरवी गर्न तालिमले फाइदा पुग्ने बताए ।

नगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि आयोजना गरिएको तालिमले सामाजिक व्यवहार परिवर्तनका लागि सहयोग पुग्ने र नगरपालिका संग निरन्तर सहकार्य गरेर अगाडी बढ्ने बताउदै बास नेपालका अनुगमन अधिकृत हरि प्रसाद जोशीले धन्यवाद ज्ञापन गरेका थिए ।

आइतबारदेखि सुरु भएको तालिममा पर्शुराम नगरपालिकाका २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । तालिम अवधिमा सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य, प्रशिक्षक अशोक जोशी र बासका हरि प्रसाद जोशीले सहजिकरण गरेका थिए ।

  • १२ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech