भत्काईयो दैलेखी बङ्गला

समिरमान श्रेष्ठ

नेपालगन्ज/पटक पटक खाली गर्न ताकेता गरिएता पनि खाली नगरिएको हुँदा नेपालगन्ज उपमहानगरपालिकाले अनाधिकृत रुपमा कब्जा गरेको दैलेखी बंगलामा बनाएको टहरा डोजर लगाएर भत्काइदिएको छ ।

नेपालगन्जमा पहाडबाट आउनेहरुलाई रात्री बासका लागि दैलेखी बंगला र सल्यानी बंगला बनाईएको थियो । यहाँ पहिलो तस्बीर विसं २०२१ को हो र बाँकी तस्बीर आज को हो ।

नेपाल र भारतको सीमामा जयसपुर बजार थियो, त्यहाँ हाटबजार लाग्थ्यो । हाटबजारमा लखनउ, रायबरेली, कानपुरका व्यापारी बयलगाडामा सामान बोकेर आउँथे । सल्यान, दैलेख, जुम्ला, हुम्ला, कालिकोट, मुगु तिरका पहाडीया किनमेल गर्न झर्थे । त्यतिबेला जयसपुर बजार गरमागरम हुन्थ्यो ।

नेपालगन्जमा सल्यानी बंगला ( नेपालगन्ज वडा न. ४ को कार्यालय र आसपासका टीनको छाना भएको घरहरु ) र दैलेखी बंगला ( नेपालगन्ज वडा नं २ मा क्यूएफएक्स बागेश्वरी हल र वडा कार्यालयको दक्षिणतर्फ हाल माछामासु बिक्री हुने टीनको छाना भएका घरहरु ) निर्माण गरियो । सल्यान भेगबाट आउनेहरू सल्यानी बंगलामा बस्थे । दैलेख भेगबाट आउने दैलेखी बंगलामा बस्ने गर्दथे । अहिले पनि दुवै बंगला भने देख्न पाइन्छ । कतिपय पहाडिया व्यापारीका घरमा डेरा लिएर पनि बस्ने गर्थे ।

पहाडबाट भेडा, च्याङ्ग्रा, खसी, घिउ, जडिबुटी लगायतका पहाडी उत्पादन बेकेर नेपालगन्ज आउँथे । धम्बोजी क्षेत्र भेडा च्याङ्ग्राले भरिभराउ हुन्थ्यो । त्यो ठाउँ चरन क्षेत्रका रूपमा थियो ।

नेपालगन्जबाट वर्षभरी पुग्ने लत्ताकपडा, मरमसला, तमाखु, नुन, तेल, भाँडाकुँडा बोकेर उकालो लाग्थे । सडक थिएन, हिँडेरै आवातजावत गर्नुपर्थ्यो । खासगरी मंसिर, पुस, माघ, फागुन चार महिना जयसपुरमा बजार लाग्थ्यो । अहिले पनि पहाड तथा हिमाली भेगबाट जाडो छल्न नेपालगन्ज झर्ने परिपाटी यथावत छ ।

– नेपालगन्ज ग्यालरीबाट साभार

  • १३ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech