सशस्त्रको कुटाईबाट गुम्यो बालक हास्मीको आँखा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ सशस्त्र प्रहरीको कुटाईबाट नेपालगञ्ज १४ निवासी जैयद हास्मीको आँखा फुटेको छ ।

गत भाद्र १४ गते नेपालगन्जको चौलिक्का चोकमा स्थानीयबासी र प्रहरीसँगको झडपमा सशस्त्र प्रहरीको प्रहारबाट सशस्त्र प्रहरीको बन्दुकको कुन्दा लाग्दा बालकको आँखा फुटेको हो ।

भाद्र १४ गते बेलुकी सशस्त्र प्रहरी र स्थानीयहरु बिच झडप भईरहँदा झडपमा संलग्न नभएका हास्मिलाई सशस्त्र प्रहरीले निर्घात कुटेको हास्मिका परिवारको भनाई रहेको छ ।

पीडित बालक हास्मीका अनुसार, भाद्र १४ गते आफु राती चौलिका नजिक ठेलामा माछा खाने क्रममा सशस्त्र ३० नम्वर गणद्वारा खटिएको प्रहरी टोलीले तस्करको संज्ञा दिई राइफलको कुन्दाले आफुलाई हान्दा आफ्नो आँखा फुटेको हो ।

उक्त घटनामा संलग्न सशस्त्र प्रहरीको पहिचान हुन नसकेको र अहिलेसम्म कारवाही हुन नसकेको बताईएको छ ।

घाइते बालकको फत्तेबाल आँखा अस्पताल नेपालगंजमा उपचार भईरहेको छ ।

अधिकारकर्मीहरुले उक्त घटनाको निन्दा गर्दै दोषीमाथि छानविन गर्न र कारवाही गर्न माग गरेका छन् । जनसेवामा खटिएका प्रहरीहरुद्वारानै निर्दोष बालक माथि गम्भीर कुटपिट हुनु दःुखद र चिन्ताजनक विषय हुनुका साथै बालअधिकार, मानवअधिकारको ठाडो उलंघन समेत भएको अधिकारकर्मीहरुले बताएका छन् ।

सशस्त्र प्रहरीको प्रहारबाट आँखा गुमाएका बालकको बिषयलाई लिएर अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बााके र जिल्ला प्रहरी कार्यालय बाँकेमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

एक दर्जनबढी अधिकारकर्मीहरुले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी र बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरलाई भेटेर घटनाको अनुसन्धान गर्दै दोषीमाथि कारवाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा सो घटना बारे राज्य र सरोकारवाला निकायको हाल सम्म कुनै पनि किसिमको चासो नदेखिएको प्रति आपत्ती व्यक्त गरिएको छ ।

यसरी निर्दोष बालक माथि भएको कुटपिट प्रति घोर निन्दा तथा भर्त्सना गर्दै सो समयमा खटिएको प्रहरी टोली माथि गम्भीर अनुसन्धान गरी बालकलाई न्याय र पीडकलाई कानुन बमोजिम कडा कारवाहीको समेत माग गर्दछौं ध्यानाकर्षण् पत्रमा उल्लेख छ ।

घटनाबारे छानविन गरी दोषीलाई कारवाही नगरिए कडा आन्दोलन गरिने चेतावनी दिइएको छ । बालअधिकारकर्मीहरु साहिल अन्सारी, अञ्जना चतुर्वेदी, श्वेता गुरुङ, सलमान सल्मानी, शहाबुद्दिन हलवाई, अंकित मिश्रा, अभियन्ता डा. बिनोद कर्ण, सामाजिक अभियन्ता समिर अली बेहना र प्रकाश कुँवरद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।

  • १९ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech