शम्शेरगन्ज बस दुर्घटनामा सातको मृत्यु

असल शासन प्रतिनिधि

बाँके/ पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा बारबर्दिया नगरपालिका ७ रम्मापुरका ३४ वर्षीय वसन्त कार्की, ठाकुरबाबा–९ की ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काँशीराम थारू, ५० वर्षीया रूपा परियार, ३५ वर्षीया जयन्ती थारू, ६५ वर्षीय साधुराम चौधरी, ठाकुरबाबा–८ का बस चालक ४५ वर्षीय जुबहादुर चन्द रहेका छन् ।

दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज नजिक बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग शुक्रबार राति ९ः१५ मा ठोक्किँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका वडा ९ को बेतहनी सामुदायिक वन समितिको पदाधिकारी सहितको भ्रमण टोली दाङको धारापानी पुगेर बर्दिया फर्किने क्रममा दुर्घटनामा परेको थियो ।

बसमा सवार ४१ जनामध्ये २ जना गम्भीर, १२ जना मध्यम, १५ जना सामान्य घातइते भएको प्रहरीले जनाएको छ। अन्य ५ जना भने सकुशल रहेका छन्। दुर्घटनामा घाइते भएकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका ठाकुरबाबा ९ का बलबहादुर थारु र रामु थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसीयुमा राखेर उपचार भइरहेको छ । टाउकोमा चोट लागेका सरस्वती थापा र महिनबहादुर थारुको पनि शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

  • २४ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech