कचहरी नाटकबाट समुदाय सचेतना जगाउने युवाहरुको प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ३० जना युवाहरुको सहभागितामा सञ्चालीत ७ दिने कचहरी नाटक तालिम आज सम्पन्न भएको छ ।
युनीसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत भाद्र १७ गते देखि उक्त तालिम नेपालगन्जमा सञ्चालीत थियो ।


तालिमको समापन कार्यक्रममा बोल्दै बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले तालिमले युवाहरुको क्षमता अभिबृद्धी गर्दै शिप प्रदान गरेको बताए । यसैगरी समापन कार्यक्रममा बोल्दै बासका निर्वतमान अध्यक्ष तथा तालिम विभाग प्रमुख रमेश सिटौलाले सात दिने तालिमबाट ३० जना युवा कलाकार उत्पादन भएको बताए । तालिमका सहभागिहरुले तयार पारेको कचहरी नाटक हेरे पछि प्रमुख सिटौलाले जुन उद्धेश्य हासिल गरेर तालिम आयोजना गरिएको थियो त्यो उद्धेश्य पुरा भएको जनाए । बास लुम्बिनी प्रदेश संयोजक खेम बिष्टले तालिमबाट सिकेको शिपलाई ब्यवहारिक रुपमा लागु गर्न अनुरोध गरे । सो क्रममा बोल्दै कार्यक्रम प्रबन्धक हेमराज भट्टले कचहरी नाटकको माध्यमबाट समुदायमा खोप (शुन्य डोज र छुटेको डोज) लाई पूर्ण गर्न र बाल विवाह न्यूनीकरणका बिषयमा सामुदायिक संवेदनशिलता र सचेतना जगाउने विश्वास ब्यक्त गरे । तालिममा सिकेको शिपको माध्यमबाट आम नागरिकहरुसम्म सुचना पुर्याउन सहभागिहरुलाइ अनुरोध गरे ।


बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने तालिमका प्रशिक्षक किशोर डंगोललाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । समापन कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निर्वतमान अध्यक्ष तथा तालिम विभाग प्रमुख रमेश सिटौला, उपाध्यक्ष शिव कुमार बर्मा, लुम्बिनी प्रदेश संयोजक खेम बिष्ट, केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलाती, कार्यक्रम प्रबन्धक हेमराज भट्ट, प्रशिक्षक किशोर डंगोल लगायतको उपस्थिती रहेको थियो ।


तालिममा कर्णाली प्रदेश अन्तरगत जुम्लाको गुठीचौर गाउँपालिका, कालिकोटको रास्कोट नगरपालिका, दैलेखको दुल्लु नगरपालिका र सुर्खेतको बिरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकाका १५ जना युवाहरु र सुदुरपश्चिम प्रदेश अन्तरगत दार्चुलाको महाकालि नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका, डोटीको शिखर नगरपालिका, कन्चनपुरको भिमदत्त नगरपालिका र कैलालीको घोडाघोडी र धनगढी उपमहानगरपालिकाका १५ जना गरी ३० जनाको सहभागिता रहेको थियो । तालिम पछि सहभागिहरुले कार्यक्रम सञ्चालीत पालिकाहरुमा कचहरी नाटक प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।

  • २५ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech