संविधानसभा अध्यक्ष नेम्बाङको निधन, डुब्यो देश शोकमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

सोमबार राती नेम्वाङको निधन भएको हो ।

जानकारी अनुसार, अस्पताल पुर्याउनु अघि नै निधन भइसकेको थियो । घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका नेम्वाङलाई अस्पताल पुर्याए लगत्तै मृत्यु घोषणा गरिएको थियो ।

शौचालयमा बेहोस अवस्थामा फेला परेका नेम्वाङलाई परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा बस्दै आएका थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति अन्दाजी १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले उनको नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेकजाँच गर्दा ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।

इलाम क्षेत्र नं २ का सङ्घीय सांसद  नेम्वाङ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए। उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए ।

इलामबजार नजिकै सुन्तलाबारीमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।

विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन विसं २०६२÷६३ सँगै पुनःस्थापित संसद्का सभामुख भएका थिए । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनी चारपटक सभामुख हुँदा सधैँ सर्वसम्मत नै बनेका थिए ।

  • २६ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech