नापी कार्यालयमा नागरिक गुनासो संकलन

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / बास नेपालले नापी कार्यालय नेपालगञ्जमा नागरिक गुनासो संकलन गरेको छ ।

सेवाग्राहीहरुको प्रत्यक्ष भिडभाड रहने सरकारी कार्यालयहरुमा सेवाग्रहीहरुले पाउने सेवा सुबिधा सरल र सहज रुपले पाईरहेका छन या छैनन् भन्ने हेतूले बास नेपालले बिभिन्न कार्यालयमा गर्दै आएको उक्त कार्यक्रम बुधवार नापी कार्यालय नेपालगञ्जमा गरेको छ ।

सेवाग्राहीहरुबाट प्राप्त गुनासोहरु संकलन गरी सम्बन्धित कार्यालय प्रमुखलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराउने उद्धेश्यले बास नेपालले गर्दै आएको नागरिक गुनासो संकलन कार्यक्रममा बुधवार मात्रै ७० जना सेवाग्राहीहरुबाट गुनासो संकलन गरिएको छ ।

गुनासो संकलनका क्रममा सेवाग्राहीहरुले ट्रेस नक्सा निकाल्ने फाँटमा कर्मचारीहरुको प्रयाप्त जनशक्ती नभएको, सबै पालिकाहरुको ट्रेस नक्सा एउटै फाँटबाट दिने गरेकाले सेवाग्राहीहरु लामो समय लाईनमा बस्नु परेको, टोकन प्रणाली लागु नहुँदा समस्या सृजना भएको, कार्यालय प्राङ्गणमा पान, गुट्का खाएर जथाभावी थुक्ने गरेकाले फोहोर देखिने गरेको, कार्यालयको शौचालय सफा नभएको, फाँटको बहिर पट्टी महिला, पूरुष तथा जेष्ठ नागरिकहरुको लागि अलग अलग लाईन नभएको गुनासोहरु ब्यक्त गरेका थिए ।

सरकारी प्रक्रियाहरु निकै झण्झटिलो र सबै प्रक्रियाहरु सेवाग्राहहिरुलाई जानकारी नहुँदा एउटै कामका लागि बारम्बार धाउनु पर्ने समस्या ,  कार्यालयका कर्मचारीहरुको यातायातका साधनहर पार्किङको राम्रो ब्यवस्था भएपनि सेवाग्राहीहरुको सवारी साधन पार्किङको निकै समस्या भएको र केही कर्मचारीहरुले सेवाग्रहीहरु प्रति बोल्ने शैली राम्रो नभएको समेतका गुनासोहरु ब्यक्त गरेका थिए ।

एकदिन अगाडी नै नापी कार्यालयका प्रमुख सहदेव सुबेदीलाई कार्यक्रमको बारेमा जानकारी गराएर सञ्चालन गरिएको उक्त नागरिक गुनासो संकलन कार्यक्रममा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीको संयोजकत्वमा बास नेपालका प्रशासकिय अधिकृत शुद्ध चौधरी, कार्यक्रम सहायक अशोक रावल, ईल्टर्न निशा बिश्वकर्मा, सहजकर्ता नानीमाया जैसी, स्यंवसेवकहरु छत्र सुनार र रचना शर्माको उपस्थिति रहेको थियो ।

 

  • २७ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech