सडक बनाउने, भत्काउने फेरी कहिले बनाउने ?

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्जको सुर्खेतरोड स्थित रत्नराजमार्ग बारे सडक डिभिजन कार्यालय नेपालगञ्जसँग सूचना माग गरिएको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम कार्यालयमा निवेदन दर्ता गर्दै नेपालगञ्जका तीन युवाहरुले सूचना माग गरेका हुन् । नेपालगञ्ज– १२ बाँकेका नमस्कार शाह, तपेन्द्र मलाती, नेपालगञ्ज–१० बाँकेका हेमराज भट्टले सूचना माग गरेका हुन् ।

सुर्खेतरोड स्थित रत्नराजमार्गमा पटक, पटक भत्काउने, पुर्ननिर्माण नगर्ने समस्या आए पछि सो बारे सूचना माग गरेको सूचना मागकर्ताहरुले बताएका छन् ।

सूचना मागकर्ताहरुले सडक डिभिजन कार्यालय बाँकेसँग नेपालगञ्ज उपमहानगरपालिका भित्र हाल सञ्चालित योजनाहरुको बिबरण माग गरेका छन् ।

सूचना मागकर्ताहरुले सुर्खेतरोड स्थित रत्न राजमार्ग (जय बागेश्वरी स्कुल अगाडी) मा भत्काई दुई महिना देखि पुर्ननिर्माण नभएको कल्भर्ट निर्माणमा ढिलाई के कति कारणले भएको हो ? सो को जानकारी माग्दै कल्भर्ट निर्माणका लागि जिम्मेवारी प्राप्त गरेको ठेकेदार कम्पनीको बिबरण, सम्झौताको छायाँकपि, कल्भर्ट निर्माणमा भएको ढिलाईका कारण उत्पन्न समस्या समाधानका लागि भएको पहल र सो योजनाको सूचना पार्टी स्थलमा नारख्नुको कारण समेत माग गरका छन् ।

यसैगरी रत्नराजमार्गको सुर्खेतरोडमा बिभिन्न बिकास निर्माणका नाममा भत्काउने गरिएकाले के कति कारणले भत्काउने, खन्ने गरिएको हो ? सो को जानकारी । भत्काईएको, खनिएको सडक पुर्ननिर्माणका लागि भईरहेको पहल बारे सूचना माग गरिएको छ ।

  • ५ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech