मृतक बिद्यार्थीको सम्झनामा ९ जिल्लामा दीप प्रज्वलन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ईजराईलमा आक्रमणमा परि मृत्यु भएका बिद्यार्थीहरुको सम्झनामा बास नेपालले विभिन्न जिल्लामा दीप प्रजवलन कार्यक्रम गरेको छ ।

लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत कृषि अद्यययनका लागि ईजराईल पुगेका नेपाली बिद्यार्थीहरुको केही दिन अगाडी आक्रमणमा परी मृत्यु भएको थियो । बास नेपाल केन्द्रीय कार्यालयको आयोजनामा बाँके नेपालगन्जको गणेशमान चौकमा दीप प्रज्वलन गरिएको थियो ।

सरकारले मृतक बिद्यार्थीहरुको शब आज सम्म पनी नेपाल ल्याउन नसकेको, हाल आक्रमण भईरहेको स्थानमा नेपाली बिद्यार्थी रहेकोमा उनीहरुलाई सुरक्षित स्थानमा लैजान ढीलाई गरिरहेको तथा ईजराईलमा रहेका नेपाली बिद्यार्थीहरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका बिषयमा नेपाल सरकारले ढीलाई गर्न नहुने भन्दै सहभागिहरुले खबरदारी गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले मृतक बिद्यार्थीहरुको शब यथासक्य नेपाल ल्याई आफन्तलाई बुझाउन पहल गर्नुपर्ने बताए । उनले सरकारले मृतक बिद्यार्थीहरुको परिवारलाई दिने भनेको राहत रकम तत्काल दिन समेत अपिल गरे । उनले बिदेशमा रहेका नेपालीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी तथा अभियन्ता प्रकाश कुवरले बोलेका थिए । दीप प्रज्वलन कार्यक्रमको शुरुवातमा मृत बिद्यार्थीहरुको शान्तिको कामना गर्दै मौन धारण गरिएको थियो । कार्यक्रमको सञ्चालन बासका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले गरेका थिए । सो अवसरमा उपस्थित सहभागिहरुले मैन बत्ति बालेर मृतक बिद्यार्थीहरुको आत्मा शान्तिको कामना गरेका थिए ।

यसैगरी असोज २३ गते बास नेपालका बिभिन्न आठ ओटा जिल्ला शाखाले दिप प्रज्वलन गरेको छ । बास नेपालका जिल्ला शाखा बाँके, दार्चुला, रुकुम पश्चिम, दाङ, डडेल्धुरा, जुम्ला, रुपन्देही,सुर्खेत र सिराहा ले जिल्ला सदरमुकाममा दीप प्रज्वलन गरेका थिए । भने बास नेपाल डडेल्धुरा पर्शुराम उपशाखाले जोगबुडा बजारमा दिप प्रज्वलन गरेका थिए ।

  • २४ आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech