कुनमिङको हरियाली प्रबर्द्धन

प्रेरणा हुन सक्छ नेपाललाई

नमस्कार शाह, कुनमिङ चीन

चीनको खुनमिङ सहर चीनको १८औँ विकसित सहर हो । यो सहर आधुनिकरण र सहरीकरणका हिसाबले पनि अब्बल छ । धेरै सहरहरूमा बिरलै हुने हरियाली यस सहरमा पाईन्छ ।

घनाबस्ती, अस्तव्यस्तता, प्रदुषण, कृतिमता प्रायस् सहरका बिशेषता हुन्छन् तर यो सहर ती सबै कुराबाट टाढा छ । ५० लाख जनसंख्या रहेको यस सहरलाई यसरी हरियाली प्रबर्द्धन गरिएको छ कि जुन अन्य सहरहरुलाई प्रेरणा हुन सक्दछ । स्थानीय नगर सरकारले हरियाली प्रबर्द्धन र बिरुवा सम्बर्द्धनलाई प्राथमिकतामा राखेको छ । कुनै पनि स्थानमा रहेका बोट, बिरुवालाई मास्न नदिने सरकारको रणनीति रहेको छ । सहरका सबै चौक, गल्ली, सडकहरूमा प्रसस्तै बोट, बिरुवाहरु छन् । अलि बुढा, पुराना रुखहरुलाई पनि सरकार र स्थानीयले संरक्षण गरिरहेका छन् ।

सडक, भवन, पुलपुलेसा निर्माणका नाममा होस् या बस्ती बसाउने नाममा नेपालका तिनै तहका सरकार रुख काट्न उधत भईरहेका बेला कुनमिङको स्थानीय सरकारले पुराना रुखहरु ढल्न नदिन टेका लगाएका दृश्यहरु प्रेरणादायी छन् । सहरका हजारौं रुखहरुमा टेका लगाएर जोगाईएको छ । हरियो बन नेपालको धन भन्ने नारालाई कागजमा सिमित राखेर बन सिध्याउन उधत हुने नेपालका बन माफियाहरुका लागि सुक्न थालेका रुखहरुको उपचार गरेर रुख जोगाउने चिनियाँ उपाय दरो झापड हुन सक्दछ ।

धेरै पुराना रुखहरुको उपचारमा बनस्पतिबिदहरु संलग्न रहेको बताईन्छ । धेरै रुखहरुमा सलाईन जस्तो पानी चढाएको दृश्य देख्न पाईन्छ । प्राकृतिक रुपमा सुन्दर यस सहरमा सयौं पार्क, पोखरी, नदि, ताल, तलैयाहरु छन् ती सबै स्थानहरुमा हरियाली छ । बिरुवा, रुख, फुलहरुबाटै बनाईएका विभिन्न प्राकृतिक संकेतहरुले सहरलाई झन मनमोहक बनाएको छ ।

न गर्मी न धेरै चिसो हुने यस सहरमा एसि चलाउन पर्दैन, बिहान र बेलुकी पैदल हिँड्नेहरुका लागि यो सहर बातानुकुलित छ । सहरमा ठूला बस लगायतका गाडी बाहेक ईलेक्ट्रीक स्कुटर, साईकल अत्याधिक चल्ने गर्दछन् जसबाट पनि सहर प्रदुषित हुन बचिरहेको छ ।

  • २९ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech