विजया दशमीको आर्शिबाद

कविता

प्रेमप्रसाद संजेल

दशैंको खसीको मासुको साँप्रोमा गरिबको रगत नगनाओस
निधारमा लाउने अक्षता पिडीतको रगतले नमुछियोस
कानको पहेलो जमरामा पापको र कर छलेको सुन नमिसियोस
धनीले गरिबलाई शोषेर झन कमाउने नाममा कँगाल नबनाओस
अत्तिसुन्दर महानगरीमा नरकको पहेँलो ढल नगनाओस
साहुले आसामीलाई मिटर ब्याजमा लगानी नगरोस
नयाँ भवनमा कमिशनको खेलले छतबाट चुहेर पानी नझरोस
भ्रष्टाचार गरेर कमाएको कालो धन बोरा भित्रै सडेर नकुहियोस
देश बिकासको अत्ति राम्रो योजना रातो किताबमै नतुहियोस
दशैंको धाक देखाउँदा गरिबको निधारमा पसिना नचुहियोस

कालो धनले किनेको बाँकटे खसीको मासु फ्रिजमा त्यसै नकुहियोस
नयाँबनेको सडक तिन महीना भित्रैमा बूढी बाख्राको डडाँल्नु झैं नखुईलियोस
सरकारी अलकत्रा खाँदा ईञ्जिनियरको आन्द्रा भूडी एकापसमा नटाँसियोस
गुण्डासित देश र जनताको रगत चुसेर कमाउनेको कालो सम्बन्ध नगाँसियोस
देश र जनतालाई कोर्ने असत्ती सर्पेकाँडाको बोट नझाँगियोस
नेपालका सबै ठूला साना नेता र कार्यकर्ताको मन नबाङ्गियोस
देशको कर र राजश्व कर्मचारीको गोजिमा सित्तैंमा नहालियोस
भ्रष्टाचारी र देशका दुश्मनको दिउसै पक्रेर छाला काढियोस
गरिबले बसोबास गर्ने दूर्गम गाँउमा पानीको नाला गाडियोस
खानेपानीमा नरक मिसिएर आउदा पनि नहेर्नेलाई नाङ्गेझार पारियोस
भ्रष्टाचारीलाई पापको भूश्वर्गबाट गलहत्याएर सही ठाँउमा झारियोस

नेपाल भन्ने देशलाशई असली भूश्वर्ग भन्ने पारियोस
अदलत र अख्तियारको काम दिनानुदिन खारियोस
जनतालाई दशैंमा बाढीबाट बँचाउन पुलबाट खोलो तारियोस
बिचारक कवि लेखक सर्जक आदिको कलम तिखारियोस
देशबाट तस्करी र कालो बजारिकरणलाई सदाको लागि निखारियोस
भ्रष्टाचारी र भ्रष्टाचार बिरुद्ध लड्ने आँट र हिम्मत सबैमा सिकाईयोस
कालो कमाउनेले कालोधन बिदेशमा लुकाएको छ सो फिर्ता ल्याईयोस
देशको राजश्व राम्ररी उठेको र लगानी भएको देख्न पाईयोस
दशैं भरी देशै भरी गरिबले खान पाएको देख्न् पाईयोस
टीकाको साईतमा भ्रष्टाचारीलाई अख्तियारले जेलमा हालेको देख्न पाईयोस
यस्तो खुशीमा झन बढी कविता लेख्ने सरस्वतिबाटै प्रेरणा पाईयोस ।

  • ३० आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech