आज नेपालगन्ज नाका बन्द

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगञ्जको जमुनाहा नाका बुधबार एकदिनका लागि बन्द गरिएको छ ।

हिन्दु धर्मावलम्वीहरुले दसैंमा स्थापना गरेका दुर्गा मूर्तिहरु बिसर्जन गर्नका लागि धार्मिक र्‍याली गर्दै नदीतर्फ लैजाने दिन सुरक्षा सतर्कता अपनाउन नाका बन्द गरिएको हो ।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमा पारीका सुरक्षा अधिकारीहरुसँगको सल्लाह र समन्वयमा आज राति ८ बजेसम्मका लागि उक्त नाका बन्द गरिएको बाँकेका प्रजिअ श्रवण कुमार पोखरेलले जानकारी दिए ।

एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायतका ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरु बाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।

नेपालगन्जका सडकहरुमा अहिले दुर्गा मूर्ति सेलाउन ताल तलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य भइरहेको छ ।

नेपालगन्जका सडकहरुमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्रयाक्टरहरुसहितको धार्मिक र्‍याली भइरहेको छ ।

मूर्ति विसर्जन गरिने कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरी नै सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा कडा पारिएको छ ।

  • ८ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech