कुर्सी

असल शासन प्रतिनिधि

जीवनका रङ्ग हजार
रहरका पनि रङ्ग हजार
सायद यो तिम्रो मोहनी थियो
एकतमाश म तिमीतिर तानिई रहें
अरू पनि आकांक्षाको पहाडले थिचिएर, उचालिएर
तिमीतिर तानिई रहे, तानिई रहे
मानौं तिमी अद्वितीय चुम्बक हौ
तिम्रा वरिपरि झुम्मिएका मजस्तै धेरै गिद्धहरू
तानातानमा संगीतमय खेल जस्तै
तिम्रै वरिपरि घुमिरहे, घुमिरहे
भीडको कोलाहलमा तिमी लुछिई रह्यौ,
थिचिई रह्यौ, चोइटिई रह्यौ र भाँचिई रह्यौ
तर तिमीले धरै पाएनौ
कोहि तिमीलाई छोड्नै नचाहने
चार सुरमा बसेर तानिरहेछन् तिमीलाई आफूतिर
यस्तो लाग्छ , मानिसहरू ज्युभरि गम लगाएर
टाँसिई रहेका छन् तिमीसंग
यस्तो लाग्छ, पात्रहरू फलामे सिक्रीमा बाँधिएका छन् तिमीसंग
तिमीसंग बस्न धेरैलाई बेवकुफ बनाएर
धेरैलाई इतिहासकै गर्भमा विलीन गराएर
आफ्नो मात्रै ईतिहास बनाएका छन् पात्रहरूले
आफ्नो मात्रै नाम लेखाएका छन् पात्रहरूले
क्षत विक्षत भए पनि नतमस्तक छौ तिमी
बाध्य छौ, विवश छौ र त्यसैले मौन छौ
थाहा छ तिमीलाई,
त्यहि पात्र रगतको, झुठको आहालमा टेकेर
तिमीलाई नछोडी अट्टहास गरि रहेको छ
एउटा कोलाहलबीच चिच्याई रहेको छ
मानौं ऊ मात्र सबै थोक हो
किनकि ऊ स्वयं घोषीत नेता हो
तर तिमी विवश छौ
त्यसैले त तिमी मौन छौ
थाहा छ तिमीलाई तिम्रो यो मौनता
तिम्रै लागि मात्र विद्रोह हो,
तिमी भित्र विस्फोट उन्मुख ज्वालामुखी होला
जसको कुनै अर्थ छैन
जसको कुनै परिभाषा छैन र कुनै ईतिहास पनि छैन
सायद सहनु र मौन बस्नु तिम्रो नियति हो
त्यसैले तिम्रो यो मौनता स्तूत्य छ, पुज्य छ
हे कुर्सी!
तिम्रो सहनशीलतालाई र तिमीलाई सादर प्रणाम छ!
हे कुर्सी ! तिमीलाई कोटि कोटि नमस्कार छ!
(अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त घिमिरेद्वारा लिखित कविता वहाँको फेसबुक वालबाट साभार गरिएको हो -सम्पादक)

  • ९ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech